संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि विभिन्न जिल्ला विकास समितिलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ।
धादिङमा ११ करोड ३३ लाख ५० हजार, दोलखामा २ अर्ब २२ करोड २५ लाख ५० हजार, काभ्रेमा १ अर्ब ९६ करोड ५० लाख, रसुवामा २६ करोड, १५ लाख ५० हजार, नुवाकोट जिल्ला विकास समितिमा १ अर्ब ४८ करोड ८१ लाख र सिन्धुपाल्चोकमा १ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ निकासा भएको छ।
यस्तै गोरखामा २१ करोड ४५ लाख, ओखलढुङ्गामा ७४ करोड ९२ लाख ५० हजार, सिन्धुलीमा ७ करोड ५० लाख र मकवानपुरमा ३७ करोड ६ लाख रुपैयाँ घर बनाउनका लागि निकासा भएको हो। यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४१ करोड रकम निकास गरेको थियो।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीनवटै बैंकिङ एशोसियसनले गरेको निर्णय अनुसार भूकम्प अति प्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाहरुको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएको छ । यसै अनुसार जिल्ला विकास समिति र बैंकहरुबीच हुने सम्झौताका आधारमा घरधनीहरुले रकम प्राप्त गर्न सक्ने प्राधिकरणले जनाएको छ।