महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल शिखर व्यक्तित्व सम्मानबाट सम्मानित भएका छन् । सामाजिक संस्था शिखर नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले खनाललाई सो पुरस्कारबाट सम्मान गरेका हुन् ।
समाज परिवर्तन र अपराध रोकथामका लागि खनालले खेलेको भूमिकाको कार्यक्रममा प्रशंसा गरिएको थियो। महानगरीय अपराध महाशाखाको प्रमुख भएर आएपछि खनालले गुन्डानाइके कुमार घैंटलाई इन्काउन्टर गरेका थिए भने, ठगी गर्ने पेट्रोल पम्पहरुमा छापा मारेका थिए।
नक्कली इन्जिनियर पक्राउ गर्नुको साथै खनालले म्यानपावर र कन्सल्ट्यान्सीहरुमा पनि छापा मारे । फुटवल फिक्सिङ प्रकरणमा राष्ट्रिय फुटवल टिमका कप्तानसहितलाई नियन्त्रणमा लिएर उनले मुद्दा चलाएका थिए। वर्षौदेखिको बडिखेल हत्याकाण्डका अभियुक्त र युनिटी काण्डका नाइकेलाई पनि उनले पक्राउ गरेका थिए।
त्यस्तै कार्यक्रममा शिखर सम्मानबाट एसपी मीरा चौधरी सम्मानित भएकी छिन् । उनी हाल मकवानपुरको प्रहरी प्रमुख हुन्। कार्यक्रममा पूर्व मन्त्री लालबाबु पण्डित र मन्त्री प्रेमबहादुर सिंहलाई पनि सम्मान गरिएको थियो।