मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी अन्ततः विभाजित भएको छ ।
पार्टीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा शनिबार पार्टीको जनवर्गीय सङ्गठनको कार्यालय कुपण्डोलमा उनी पक्षधर केन्द्रीय सदस्यको छुट्टै केन्द्रीय समितिको बैठक बसेपछि सो पार्टी फुटेको हो।
बैठकले थापाको नेतृत्वमा एकीकृत नेकपा (माओवादी) सँग वार्ता गर्न ६ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
वार्ता टोलीमा स्थायी समितिका महासचिव रामबहादुर थापा, सचिव देव गुरूङ, प्रवक्ता भुसाल, स्थायी समिति सदस्य कुलप्रसाद केसी र हितमान शाक्य रहेका छन्।
टोलीले एकताका लागि तय गरिएका १६ बुँदाका आधारमा एमाओवादीसँग वार्ता गर्नेछ । प्रवक्ता भुसालले आजको बैठकमा ११४ केन्द्रीय सदस्य उपस्थित रहेको बताइन्। हाल सो पार्टीको १९९–सदस्यीय केन्द्रीय समिति रहेको छ।
अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेललगायतका नेता भने एकता प्रक्रियाको विपक्षमा रहेका छन्। रासस