संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौंमा प्रदर्शन गरेको छ।
तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो।
गठबन्धनले शान्तिबाटिकाबाट भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड, असन हुँदै भोटाहिटीसम्म जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सरकारविरोधी नारा लगाएका छन्।
उनीहरूले संविधानलाई प्रतिगामी भन्दै पहिचानसहितका प्रदेश नबनाइएसम्म संविधान स्वीकार नगर्ने बताएका छन्। गठबन्धनले पहिचानसहितका प्रदेश सुनिश्चित गर्नका लागि दबाब दिन भन्दै आइतबारदेखि सिंहदरबार घेराउको कार्यक्रम राखेको छ। गठबन्धले आइतबार सिंहदरबार घेर्ने कार्यक्रम छ। संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले धर्ना शान्तिपूर्ण रहने बताए।