एकीकृत नेकपा माओवादीले विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ। एमाओवादीको शनिबार अपरान्ह पार्टी मुख्यालयमा बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समूहमा विभाजित सबै माओवादी पार्टीसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो। केन्द्रीय समितिको तीन घण्टा लामो बैठकले एकताको विषयमा लचकता अपनाउने निर्णय समेत गरेको छ।
आफूबाट अलग्गिएर गठन भएका दलका नेताका नेतालाई सामूहिक वा विभाजित जुन रुपमा आए पनि पार्टीमा एकताबद्ध गराउने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए। उनका अनुसार बैठकले राजनीतिक र सांगठनिक विषय टुंग्याएर दुई साताभित्र एकता प्रक्रिया टुंग्याइसक्ने र त्यसको जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ।
दश वर्ष सशस्त्र युद्ध गरेका माओवादी अहिले विभिन्न ५ वटा समूहमा विभाजित छन्। एमाओवादीबाट अलग्एिर मोहन वैद्यले नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्दले नेकपा माओवादी, मात्रिका यादवले नेकपा (माओवादी) र मणि थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका छन् । यस्तै, एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने दुई दर्जन नेतालाई साथ लिइ नयाँ शक्ति नेपाल गठन गरेका छन्। सम्भव भएसम्म विगतमा माओवादी पार्टीको छहारीमा हुर्किएका सबै नेता तथा कार्यकर्तालाई एकताको प्रक्रियामा ल्याउने एमाओवादीको निर्णय छ।