भूकम्पले घर भत्केपछि नागरिकतालगायत महत्वपूर्ण कागजात हराएका भूकम्पपीडितलाई गाउँमै सेवा दिन जिल्लाको तीनै निर्वाचन क्षेत्रमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ। प्रजिअ नारायणप्रसाद भट्टका अनुसार शिविरमा जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला मालपोत, जिल्ला नापीलगायत कार्यालयबाट सेवा प्रदान गरिनेछ।
तीन निर्वाचन क्षेत्रको कुन कुन ठाउँमा शिविर सञ्चालन गर्ने भन्नेबारे टुङ्गो लागेको छैन। यद्यपि यही जेठ १५ अघि नै शिविर गरिसक्ने प्रजिअ भट्टको भनाइ छ। भूकम्पले घर भत्कँदा कतिपयको महत्वपूर्ण कागजात हराएका छन्। नागरिकतालगायत कागजात नहुँदा सरकारी तथा दातृ संस्थाले प्रदान गर्ने राहत पाउनबाट भूकम्पपीडित वञ्चित हुँदै आएका थिए।
यसैबीच, गोरखा नगरपालिकाले स्थानीय विकास शुल्क पूँजीगत अनुदानबाट तेह्रकिलोमा बसोबास गर्दै आएका लोपोन्मुख नौ कुसुण्डा परिवारलाई कपडा वितरण गरेको छ। त्यस्तै कपडा सिलाइ खर्चबापत रु पाँच हजार पनि वितरण गरिएको छ। कपडा पाएपछि कुसुण्डा खुसी भएका छन्। रासस