रोल्पाको जिनाबाङमा बाढीले बगाउँदा ७० वर्षीय वृद्धको मृत्यु भएको छ।
जिनाबाङ–१ बाखु खोलामा आएको बाढी घरमा पसेपछि ७० वर्षीय टेकबहादुर घर्तीलाई बगाएको थियो। घर्तीको शव करिब डेढ सय मिटर तल खोला किनारमा फेला परेको राप्ती अञ्चल प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए।
मृतक घर्तीको शव शनिवार पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघा रोल्पामा लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
बाढीले सुख्खा ओडारमा रहेका १२ ओटा घरमा क्षति पुगेको छ। बाढीले खोला किनारमा रोकी राखेको एउटा बस र ट्रेक्टर पनि बगाएको प्रहरीले बताएको छ ।
सल्यानमा पनि बाढीले क्षति
सल्यानको उत्तरी गाविसहरूमा वर्षापछि आएको बाढीले क्षति पुर्याएको छ।
वाफुखोला, शिवरथ, कोटवारा, दार्मकोट, ढाकाडाम भल्चौर लगायतका गाउँ विकास समितिमा विहीवार वर्षापछी आएको बाढीले स्थानीयका पसल एवं सवारी साधन समेत वगाएको छ।
लामो खडेरी पछी झन्डै एक घन्टा सम्म परेको भिषण वर्षाले वाफुखोला दोभान वजारका ११ वटा पसलहरुमा क्षति पुर्याएको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। वजार नजिकको दोभान खोला वढेर वजारमा पसेपछि पसलहरु डुवाएको थियो।
उक्त बाढीले स्थानीय राजेश डाँगी र रामप्रसाद शर्माको एक/एक वटा मोटरसाईकल समते बगाएको छ। बाढीले वाफुखोलाको विजयलघु जलविद्युतमामा समेत क्षति पुर्याएको छ।