अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनको दायरामा ल्याउँदा भएको विरोधप्रति चर्को असन्तुष्टि जनाएका छन।
अख्तियारका प्रमुख आयुक्त कार्कीले विहिवार काठमांडौमा एउटा सार्वजनिक कार्यक्रममार्फत लोकतन्त्रमा नेता र जनता सबै बराबर हुने भन्दै नेताहरुलाई छानविनको दायरामा ल्याउँदा दलहरुबाट विरोध हुनु आपत्तिजनक भएको बताए।
अख्तियारले केही समय पहिले विभिन्न राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनका लागि पत्र काटेको थियो। अख्तियारले पत्र काटेपछि कतिपय नेताहरुले महाअभियोग लगाएर अख्तियार प्रमुख कार्कीलाई हटाउनुपर्ने बताएका थिए। अख्तियारका प्रमुख आयुक्त कार्कीले मुलुक संचालनमा कमारो प्रवृत्ति मौलाएको बताए।
उनले नेताहरुमा आफूलाई शासक र जनतालाई कमारो ठान्ने प्रवृत्ति मौलाएका कारण नै कानून अनुसार अगाडि बढाइएको छानविनको विरोध भएको बताए। उनले अख्तियारको छानविन चित्त नबुझे राजनीतिमा सहभागी भएर अकुत सम्पति आर्जन गर्ने तथा लुट मच्चाउनेहरुलाई कसैले पनि केहि गर्न नपाउने गरी कानून बनाएर देखाउन नेताहरुलाई चुनौति समेत दिए।
अख्तियारका प्रमुख आयुक्त कार्कीले राजनीतिक परिवर्तनको नाममा सत्ता चलाउनेको अनुहार परिवर्तन गरेर मात्र मुलुकको विकास सम्भव नहुने बताए। उनले लोकतन्त्र प्राप्त भएपनि आम जनताले त्यसको महसुस गर्न नपाएको बरु मुलुकमा सीमित केही व्यक्तिको बोलवाला बढेको बताए। उनले जनतालाई आश्वासनको पोको बाँडेर नवसामन्तयुगका केही नाइकेले देशमा लुटतन्त्र मच्चाइरहेको बताए।
अख्तियारका प्रमुख आयुक्त कार्कीले राजनीति र राजनीतिक संरक्षणमा भइरहेको लुटतन्त्र रोक्न सबै नेपाली एकजुट हुन आवश्यक रहेको बताए।