उर्लाबारीमा जारी पाँचौं मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा एपिएफ क्लब विजयी बन्दै सेमिफाइनल पुगेको छ। डिफेन्डिङ च्यापियन चर्च ब्वाइज युनाइटेडलाई एपिएफले ३-१ गोलले पराजित गरेकोहो।
एपिएफका लागि सन्तोष श्रेष्ठ, हरि कार्की र प्रवीन स्यान्तनले योगदान गरे। चर्च ब्वाइजका तर्फबाट अजय मार्टिन्सले गोल गरे।
खेलको सुरुवातदेखि नै निकै आक्रामक बनेको एपिएफको तर्पmबाट पहिलो गोल सन्तोष श्रेष्ठले गरे। वान भर्सेज वानमा श्रेष्ठले पहिलो हाफको आठौं मिनेटमा गोल गरेका थिए। चार जना अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको गत वर्षको बिजेता चर्च ब्वाइजविरुद्ध पहिलो हाफको १५ मिनेटमा एपिएफका हरि कार्कीले अर्को गोल गरेर टिमलाई २-० को अग्रता दिलाए।
पहिलो हाफको ३८ औं मिनेटमा चर्च ब्वाइजको तर्फबाटअजय मोर्टिन्सले सान्त्वना गोल पर्काए। एपिएफका अदित्य चौधरीले डि-बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै चर्च ब्वाइजको तर्फबाट पहिलो गोल भएको थियो।
दोस्रो हाफको १२ औं मिनेटमा चर्चका अफ्रिकन खेलाडी प्याट्रिक जिनको पासमा जांगबो शेर्पाले गरेको प्रहार एपिएफका गोलरक्षक अमित चौधरीले बिफल पारिदिए। चर्चले दोस्रो हाफको १५ मिनेटमा कर्नर पाउँदा निस्किएको बल सदुपयोग गर्न सकेन।
दोस्रो हाफको २२ औ मिनेटमा एपिएफका टिम कप्तान नवीन लामाको पासको मद्दतमा प्रवीन स्यान्तले गोल गर्दै आफ्नो टिमलाई जितनजिक पुर्याए। २९ औं मिनेटमा चर्च ब्वाइजका प्याट्रिक जिनको फ्रि-किक गोल हुन सकेन।
प्रतियोगिताको म्यान अफ द म्याच एपिएफका सन्तोष श्रेष्ठ घोषित भए। बिजेता एपिएफले आगामी शुक्रबारको पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीसँग भिड्दैछ।
बिहीबार हुने समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र कञ्चनजंघा फुटबल क्लब भारतबीच हुने आयोजक समितिका सचिव रुद्रबहादुर तामाङले बताए।