अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपाल भित्री स्थानीय वायुको सम्मिश्रणका कारण मौसममा परिवर्तन आएको छ । उक्त वायुको प्रभावले देशभर बदली हुनुका साथै अधिकांश भेगमा मेघ गर्जनसहित वर्षात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार बदलीसँगै मेघ गर्जनसहित वर्षात हुने क्रम अझै दुई दिन जारी रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । खासगरी अहिले ‘प्रिमनसुन’ सक्रिय भएकाले पनि देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षात भएको मौसमविद् कँडेलले बताउनुभयो । मार्च, अप्रिल र मे प्रिमनसुनको अवधि भए पनि ढिलो गरी सक्रिय भएको हो ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी ताप्लेजुङ्मा २७ र सबैभन्दा कम सिमारा र भैरहवामा १–१ मिलिमिटर वर्षात् भएको छ । त्यस्तै धनगढीमा १८, नेपालगञ्जमा १७, ओखलढुङ्गामा १७ र दाङ्मा १५ मिलिमिटर वर्षा भएको छ ।
आज सबैभन्दा बढी तापक्रम सिमारामा ३८.८ र भैरहवामा ३८.२, विराटनगरमा ३६.८ र नेपालगञ्जमा ३६.८ रहेको छ, भने सबैभन्दा कम जुम्लामा ७ डिग्रिसेल्सियस रहेको छ ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ र अधिकतम तापक्रम २९.८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस