भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले साँखुका भूकम्पपीडितलाई सोमबार घरजग्गाको लालपुर्जा वितरण गरेका छन्।
मन्त्री सुब्बाले शङ्खरापुर नगरपालिका वडा नं ९ र १० का १४५ जना पीडितलाई रैकर, निजी गुठी र बेनिस्सा स्ववासी गरी तीन किसिमका लालपुर्जा वितरण गरेका हुन्। पुख्र्यौली बसोबास रहेपनि यहाँका बासिन्दासित लालपुर्जा छैन।
मन्त्री सुब्बाले भूकम्पबाट अतिपीडित क्षेत्र भएकाले साँखुबाट स्ववासी लालपुर्जा वितरण गरिएको बताए। उनले लालपुर्जा नभएका स्ववासी जग्गाधनीले सम्बन्धित नापी तथा मालपोत कार्यालयबाट आगामी दुई महिनासम्म लालपुर्जाका लागि पुनः निवेदन दिन आग्रह गरे।
कार्यक्रममा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले जनशक्ति अभावका कारण काममा केही ढिलाइ भएको बताए। पीडितलाई सरकारको यस कार्यले मलमको काम गर्ने उनको भनाइ छ। कार्यक्रममा नापी विभागका नायब महानिर्देशक गणेशप्रसाद भट्ट, मालपोत कार्यालयका महानिर्देशक रोहित भट्टराई, शङ्खरापुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ शर्मालगायतको उपस्थिति रहेको थियो। रासस