एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
‘मलाई शेरबहादुरजीले तपाईं प्रधानमन्त्री बन्ने भए मलाई केही आपत्ति छैन भन्नुभएको थियो। मलाई नेपाली कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्दा भो, अहिले म हुन्नँ भन्दा धोका दिएको हुन्छ र?’ उनले भने, ‘मैले उहाँ (शेरबहादुर देउवा)लाई प्रधानमन्त्री हुनोस् भनेर पछि छाडेको भए पो धोका हुन्छ। बजेट ल्याउने वेला सरकार ढालेर राम्रो हुँदैन। सबैको सहमति हुने देखिएन भन्दा मैले कसरी धोका दिएको भन्न मिल्छ र ?’
प्रधानमन्त्री बन्न तयार छु
सोमबार महोत्तरीको बर्दिवासमा एमाओवादीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले राष्ट्रिय सहमति भए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताए।
संविधान कार्यान्वयन, शान्तिप्रक्रिया टुंगो लगाउन, मधेसी जनताका मागलाई सम्बोधन र विकास निर्माणका काम अघि बढाउने सर्तमा कांग्रेस र एमालेको प्रस्ताव आए प्रधानमन्त्रीका लागि तयार रहेको बताए।
‘हामी राष्ट्रिय सहमतिका लागि प्रयास गरिरहेका छौँ । मेरा लागि प्रधानमन्त्री मुख्य छँदै छैन। तर, यसबीचमा केही भ्रम पर्यो कि प्रचण्डले प्रधानमन्त्री खोज्यो । नेपाली कांग्रेससँग कुरा गर्दागर्दै चटक्कै छाडेछ, कतै धोका भयो कि भन्ने कुरा पनि बाहिर आए, राजनीतिमा यस्तो अपन–डाउन र जिकज्याक हुँदो रहेछ,’ मा उनले भने ।