नेपाली कांग्रेसका सभापति शेरबहादखुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन्। १३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन्। नागरिक दैनिकमा समाचार छ।
पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख छ। फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन्।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने भएपनि सभापतिको ध्यान त्यता नपुगेको बताए।
सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सूर गरेकाछैनन्।
त्यस्तै बाँकी १४ केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्य सुरु भएको छैन।
विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबे तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ।