प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक, मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन हुने बताएका छन्।
प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रमपछि वरिष्ठ प्रहरी अधिकृतहरुलाई शनिवार निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने–“कात्तिक/मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।” प्रधानमन्त्री ओलीले आगामी २०७४ माघ ७ गतेभित्रमा आमनिर्वाचन हुने पनि स्पष्ट पारे।
सत्तासाझेदार एनेकपा (माओवादी)सँग भएको नौ बुँदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने प्रधानमन्त्री ओलीले बताए। नौ बुँदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर भएको ओलीको भनार्इ छ।
देश सङ्घीय संरचनामा गएकाले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवर्तन हुन प्रहरीका वरिष्ठ अधिकारीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए। “हामी सङ्घीय ढाँचामा गएका हौँ । यसलाई राष्ट्रै अर्को भयो भनेर बुझ्नु हुँदैन” प्रधानमन्त्री ओलीले भने– “सङ्घीय प्रहरीको कार्यक्षेत्र कति के भन्ने कुरा ऐनमा स्पष्ट हुन्छ, त्यसैअनुसार काम गर्नुपर्छ।”
नेपाल प्रहरीले समाज र सरकारका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेकामा प्रशंसा गरे। सङ्क्रमणकालीन अवस्थामा समाजमा आपराधिक घटनामा वृद्धि हुने भएकाले त्यसतर्फ चनाखो हुन प्रहरीलाई प्रधानमन्त्रीले निर्देशन दिए।
विगतमा भएका आन्दोलनमा प्रहरीले अतिरिक्त बल प्रयोग भयो भन्नु गलत भएको प्रधानमन्त्रीले बताए। “केही महिनाअघि भएका आन्दोलनमा अतिरिक्त बल प्रयोग भएको छैन। बरु प्रहरीले आफू मरेर, घाइते भएर पनि संयमता अपनाएको छ,'उनले भने।
देश अप्ठ्यारोमा भएका बेला त्यसलाई सजिलोमा ल्याउने जिम्मा प्रहरीका काँधमा आएको प्रधानमन्त्री ओलीले बताए। नेपालमा साम्प्रदायिक आन्दोलनको बीउ छरेर द्वन्द्वमा फसाउन केही वर्षअघिदेखि नै प्रयास भइरहेकामा त्यसलाई नेपाली जनताले अस्वीकार गरेको प्रधानमन्त्री ओलीले बताए।
अर्को एक प्रशङ्गमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीमा महिलाको सङ्ख्या बढाउन सरकार सकारात्मक भएको बताए। अहिले नेपाल प्रहरीमा महिलाको सङ्ख्या सात प्रतिशत भएकामा आगामी तीन वर्षभित्र १० प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले जानकारी दिए। रासस