पर्यटन प्रवर्धनका लागि भन्दै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दैलेखमा उद्योग बाणिज्य संघले दैलेखले दुईसाता लामो ब्यापारिक महोत्सव गरिरहेको छ।
आगामी वैशाख २६ सम्म हुने महोत्सवमा स्थानीय उत्पादित समानहरूको स्टल राखिएको छ। राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको महोत्वमा स्थानीय कालकारहरूले साथ दिएका छन्।
‘जिल्लाको धार्मिक, सास्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्नू दैलेख महोत्सवको मुख्य उद्धेश्य हो,’ संघका अध्यक्ष शान्ति शर्मा लम्सालले भने, ‘महत्वपूर्ण स्थानहरूको प्रचार प्रसार गर्नु नै महोत्सवको लक्ष्य हो।’
दैलेख धार्मिक हिसावले देशकै महत्वपूर्ण जिल्ला भएको स्मरण गर्दै शर्माले दैलेख जिल्लामा अवस्थित शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई पन्चकोशी तिर्थस्थललाई थप प्रचारप्रसार गर्नुपर्ने धारणा राखे।
‘यिनीहरूको प्रचार प्रसार गर्नुका साथै पर्यटकीय गन्तव स्थलका रूपमा लैजानु नै महोत्सव आयोजना गरिएको हो,’ उनले भने।
बैश्वानरपुराण अनुसार शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई तिर्थस्थलका रूपमा मानिएको छ। यस्तै चलन चल्तीमा कोटीलालाई समेत पचकोशी तिर्थस्थलका रूपमा समाबेश गरीएको छ।
यती मात्र नभएर नुवाकोटदेखि पश्चिम र उत्तर भारतको कुमाउ गढवालदेखि पूर्वको भु-भागमा मात्र देवल पाईने गरेकामा सबैभन्दा बढी र कलात्मक देवल दैलेखमै रहेको मेलाका संयोजक यम बहादुर मल्लले दाबी गरे।
‘देवलहरूमा बौद्ध र हिन्दु धर्मलाई समान रूपले ग्रहण गरेका कारण धार्मिक सहिष्णुतालाई झल्काउने गरेका छन्,’ मल्लले भने, ‘यस्ता महत्व बोकेका स्थल भएर पनि दैलेख आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा नपरेकाले महोत्वस आयोजना गरेका हौ।’