समाजसेवी एवम् जिएन ईँग्लिस बोर्डिङ्ख स्कूलका संस्थापक अध्यक्ष नारायण कार्कीले आफ्नो ज्यानको असुरक्षा भएको भन्दै सुरक्षाको प्रत्याभुति गरिदिन सरोकारवाला निकायलाई ध्यानाकार्षण गराएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले उक्त कुराको अपिल गरेका हुन्। उनले भने,‘मलाई पछिल्लो एक वर्षदेखि ज्यान मार्ने प्रयास भैरहेको छ, म र मेरो परिवार भागेर बाँच्न सफल भएका छौं, अब यसैगरि भागेर हामी कति दिन हिँड्ने?’
रामेछाप माकादुम गाविस वडा नम्बर ०९ मा सञ्चालित उक्त जिएन स्कुलका संस्थापक अध्यक्ष समेत रहेका कार्की एक दशक लामो दुवई रोजगारीको सिलसिला बसाईपछि आफ्नै देशमा केही नयाँ काम गर्ने उद्देश्यले स्वदेश फर्किएको बताउँछन् । उनले माकादुममा करिब तीन करोडको लगानीमा वि.सं. २०६७ सालदेखि सुविधासम्पन्न प्राथमिक तहसम्मको विद्यालय सञ्चालन गरेको जानकारी दिए ।
आफूले राम्रो विद्यालयमा अध्ययन गर्न नपाएपनि नयाँ पीढीहरुले राम्रै विद्यालयमा अध्ययन गर्न पाउन भनेर आफूले विशुद्ध समाजसेवाको भावनाले उक्त विद्यालय स्थापना गरेपनि केही राजनीतिक स्वार्थ बोकेका स्थानीयहरुले विद्यालय सञ्चालनमा कृत्रिम समस्याहरु खडा गर्ने काम गरेको कार्कीको आरोप छ ।
उनले थपे, ‘गाउँमा सुविधानसम्पन्न विद्यालय खोल्दा गाउँलेहरु खुशी हुनुपर्ने हो तर हाम्रोमा त कसरी हुन्छ यसलाई खुट्टा तान्नुपर्छ भनेर लागी परे, तर सबै जना नै यो फोहोरी खेलमा लागेका थिए भनेर मैले भन्न खोजेको होईन् ।’
आफूले गाउँ र त्यहाँका बच्चाहरुको लागि सुन्दर सपना बुनेर व्यक्तिगत चाहनाहरुलाई बेवास्ता गर्दै विद्यालयको स्तरोन्नतीको लागि दिनरात मेहनत गरेको उल्लेख गर्दै कार्कीले पवित्र काममा बाधा पुर्याउनेहरुलाई सम्बन्धित निकायले पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
विद्यालय स्थापनाको सुरुवातीदेखि नै आफूले विविभन्न खाले बाधा अड्चन भोगेको भएपनि पछिल्लो एक वर्षदेखि अज्ञात समूहबाट ज्यान मार्ने प्रयास भैरहेकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको कार्कीको जिकिर छ । उनले भने, ‘मलाई विभिन्न नम्बरहरुबाट फोन कलमार्फत ज्यान मार्ने धम्की आईरहेको छ, यसबारेमा मैले स्थानीय प्रहरी चौकीमा सम्पर्क गर्दासमेत मलाई कुनै सहयोग भएन् ।’
हालसालै गएको आईतबार राति ठूलो ज्यान भएको अपरिचित मान्छेले आफूलाई मोटरसाईकलबाट पिछा गर्दै गन तेर्साएको बताउँदै उनले भने, ‘भाग्यवश म बाँच्न सफल भएँ, किनकी त्यही बेला एक जना बुढो मान्छे त्यहाँ आईपुग्नुभएको थियो भने अर्को कुरा घरको गेट खुल्लै थियो । म हतारहतार आफ्नो झोला बोकेर त्यहाँबाट बाहिरिन सफल भएँ । मध्य रातमा भाडाको ट्याक्सी लिएर म होटलमा बस्न बाध्य भएँ ’ यसअघि पनि आफू लगायत विदेशी दाता साथीहरुलाई हत्या प्रयास गरिएको उनले खुलासा गरे ।
कसले तपाईको हत्या प्रयास गरिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा कार्कीले भने, “त्यो त मलाई थाहा छैन, थाहा भएको भए म किटानी जाहेरीका साथ उपस्थित् हुन्थें ।”
कार्यक्रममा विद्यालय भवन निर्माणदेखि अन्य भौतिक सहयोग जुटाउन सहयोग प्रत्यक्ष सहयोग पुर्याउने विगत तीस वर्षदेखि दुवईमा बस्दै आउनुभएको दुवई न्याच्युरल हिस्ट्रीका समेत अध्यक्ष रहेका अमेरिकी नागरिक ग्यारी फुल्नरले नारायण कार्कीप्रति भएको उक्त घटनाले आफूलाई दुखी बनाएको बताए ।
उनले भने, “राम्रो काम गर्दा कसैले साथ नदिएको देख्दा मलाई दुःख लागेको छ, नराम्रो कामको भण्डाफोर गर्न राम्रा तथा शिक्षित व्यक्तिहरुले पहल गर्नुपर्ने हो त्यो पनि भएको छैन ।” उनले आगामी दिनमा यस्तै खराब प्रवृत्तिका घट्नाले प्रसय पाए देश विकासको भावना बोकेका नेपाल र नेपालीलाई कुनै पनि विदेशी संघसंस्थाले सहयोग नगर्ने चिन्ता व्यक्त गरे ।\
फूल्नरले आफूले नारायणलाई विगत १२ वर्षदेखि नजिकबाट चिनेको बताउँदै नाराण अत्यन्तै मेहनती, ईमान्दार र समाजसेवी भावना बोेकेको नेपाली भएकाले आफू उक्त घट्ना सुनेबित्तिकै कार्कीलाई साथ दिन दुवईबाट आकस्मिक नेपाल आएको समेत स्पष्ट पारे ।