एमाले वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय हितलाई मध्यनजर गरेर नेकपा एमालेले कदम चाल्ने बताएका छन्। उनले एमाले संविधानको बाटोबाट अघि बढ्ने बताए।
नयाँ सरकार गठनका लागि एमालेले मार्ग प्रशस्त नगरेको भन्दै कांग्रेस र एकीकृत माओवादीले संसदमा अविश्वास प्रस्ताव लैजाने तयारी गरिरहेका बेला खनालले यस्तो बताएका हुन्। ‘एमालेले मार्ग प्रशस्त गर्नैपर्दैन, संविधानले बाटो खोलिदिन्छ,’ सेतोपाटीसँग कुरा गर्दै खनालले भने, ‘हामी संविधानको पालना गर्दै राष्ट्रिय हितलाई मध्यनजर गरेर अगाडि बढ्छौं।’
संसदमा अविश्वास प्रस्ताव दर्ता हुने तयारी हुँदैछ नि भन्ने प्रश्नमा खनालले भने, ‘उनीहरू जे गर्छन् त्यो उनीहरूको कुरा हो, हामी संविधान र राष्ट्रिय स्वार्थको बाटोबाट अगाडि बढ्छौं।’
एमाले सचिव गोकर्ण विष्टले अविश्वासको प्रस्ताव लिएर जाने कांग्रेस, एमाओवादीको तयारीले सहमतीय राजनीतिमा फाटो ल्याउने बताए। ‘मुलुकको समस्या समाधान गर्न र सहमतिको आधारमा अघि बढ्न त्यसकिसिमको कार्यबाट सम्भावना घट्छ,’ विष्टले भने, ‘कहीँ न कहीँ नेकपा एमालेको भूमिका, संवाद, सहमति आवश्यक पर्छ। त्यो मान्यता तोडेर उहाँहरू जानुहुँदैन।’
संसदीय विधि पद्दती र संख्यात्मक हिसाबले कांग्रेस–एमाओवादीले चाल्ने कदम तत्कालका लागि उपयुक्त देखिए पनि एकपक्षीय हिसाबले जबरजस्ती जानेभन्दा सबैलाई मान्य हुने किसिमले अगाडि बढ्दा उपयुक्त हुने विष्टले बताए।
‘नीति कार्यक्रम र बजेट ल्याएर सहमतिका साथ अघि बढ्ने भनेर उदारता देखाउन खोजिरहेको छ, दस पन्ध्र दिन बीस दिन सरकार नहटाउँदा देशले निकास नपाउने भन्ने हुँदैन, उहाँहरू त्यस किसिमले लाग्न खोज्नुभएको छ,’ विष्टले भने।