हुन त, सम्झनुको औचित्य पनि केही देख्दिनँ। भावनात्मक सम्बन्ध मेटिइसकेको छ। सबै बितिगयो सम्झन पनि चाहन्न तिमीलाई। त्यतिबेला अन्जानमै गाँसिएको तिमीसँगको त्यो नाता न तिमीले सुमधुर बनाउनका लागि सोच्यौ न मैले।
हरेक मान्छेले जिन्दगीमा सम्झौता गर्ने दिन आउँछ भन्ने बुझेकी थिइनँ। त्यसैले त तिम्रो र मेरो बाटो फरक भयो। दाजुभाइ, दिदीबिहिनी, नातागोता आफन्तहरुले मिलेर बनाएको लगन गाँठो तोड्यौँ हामीले। तिमी र म बराबर जिम्मेवार छौँ यसमा।
छोड्ने बेलामा तिम्रो र मेरो लगनगाँठोकै एउटा मात्र चिनो फोटो बनाएर सजाएर राखिएको थियो। सिसामा राखिएको एउटा फोटोसहित सबै सम्बन्ध धुजाधुजा पारेर च्यातेर गएका थियौँ।
तिमीलाई याद छ त्यो फोटो? बिहे भएको दुई वर्षपछि मेरो नागरिकता बनाउन तानसेन जाँदा बजारमा खिचेका थियौं। सम्झनाको लागि त्यही एउटामात्र फोटो थियो तिम्रो र मेरो। फोटोमा लगाएको सारी बिहेको थियो। नीलो भुइँमा राता फुलबुट्टा थियो। सारीमाथि रातो दोसल्ला ओढेकी थिएँ मैले।
म, नुहाएर आउँदा टेबुलमा सजाएर राखेका सिसाका गिलासहरु फुटालेर भुइँमा पाइला राख्ने ठाउँसमेत थिएन। त्यतिबेलै चित्त बुझाएथें, तिमी र म पनि तिम्रा लागि थिइनँ। बुढापाकाले त्यसै भन्दैनन्। 'जोडी स्वर्गमा बनेर आउँछ।' माथिबाट बाँधिएर आएको जोडी जसरी पनि एक हुनैपर्छ। सम्बन्ध गाँसिनैपर्छ। सायद तिम्रो र मेरो जोडी माथिबाट बनेर आएको थिएन। त्यसैले, त च्यातेर हिड्यौं तिम्रा र मेरा तमाम सम्बन्धका पानाहरु। समयको लहरसँगै म कता पुगें, तिमी कता पुग्यौ।
तिमीबाट रोपिएको बिरुवा मेरो मातृत्वको कर्तव्य ठाने र मैले हुर्काएँ। तिमीजस्तै बलवान बनाउन सकिनँ र चाहन्न पनि। समय र परिस्थितिसँग जुध्नसक्ने बनाए। मैले कहिल्यै पनि तिमी नभएको आभाष हुन दिलाइनँ।
आमा त सिंगो संसार हो। बाबुको रुप त तिमीले देखाएर गएकै हौ।
छोराछोरीलाई कहिल्यै बाको अभाव हुन दिइनँ। बा कहिले घर आउने भनेर सोध्लान् भन्ने बडो डर लाग्थ्यो। बा र आमाको माया कमी आउन दिइनँ मैले। तिमी नहुनुले दु:ख भयो भन्ने गुनासो केटाकेटीले नगरुन् भन्ने कुरामा म सधै सजग रहेँ।
केही महिना तिमीले बालकलाई काखमा लगेका बेला किन हो कुन्नी तिम्रो मन खस किहिल्यै देखिनँ। सन्तानप्रतिको माया तिम्रो आँखामा कहिल्यै झल्किन्थेन।
चार वर्षको उमेरमा त तिमीले छोराको माया मारेर हिडिसकेका थियौं। त्यतिबेला तिमीले मेरो छोरो भनेर भेट्नसम्म आएनौं। मेरो रगत एकदिन मेरो घरमा लगेर राख्छु भन्नेसम्म आँट गरेनौं।
आमाले भन्नुहुन्थ्यो - छोरो चारवर्ष पुगेपछि स्कुल भर्ना गर्न लाग्दा गाविसको सिफारिस बनाएर पठाइदिनु भनेर खबर पठाउँदासमेत तिमीले वास्ता गरेनौं। आमाले त्यही गाउँको सिफारिस बनाएर छोरा पढन पढठाउनुभयो आमाको मन र बाको मनविचको फरक सम्झिनु एकचोटी।
तिम्रो सम्झनाले सताएरै मैले यति लेख्न थालेको पनि होइन आज। तिम्रो सम्झनाले मेरा जीवनको खुड्किलोमा बाधा पारेको त झन छँदैछैन। जे हुन्छ चल्दै जान्छ। र पनि लोग्ने स्वास्नीबीचको सम्बन्ध न हो कहिलेकाहीँ नचाहेर दिमाग गराब गरिरहन्छ।
जब कुनै काममा तिम्रो नामसँग मेरो नाम जोडिएर आँउछ तब लाग्छ म स्वयंमले यो देशको नागरिक मान्ने कि नमान्ने? तिम्रो नामबिना मेरो अस्तित्व छ कि छैन? म तिम्रो नामबाट मलाई मुक्त गराउन चाहन्छु। त्यसैले म तिम्रो नामबाट मुक्त हुन चाहान्छु। तर जति गरे पनि इतिहास त इतिहास नै रहन्छ मेटिँदै मेटिँदैन।
हिजो तिम्रो घर पुगेकी थिएँ। नोष्टाल्जिया भए। भिरालो तिम्रो घरमाथि टन्नै निबुवा टिपेर बिस्कुन बनाइएको थियो। तिम्री आमा (मेरी सासु) र काकी-कान्छी (सासु) ले सकिनसकि ती निबुवाहरु उठाइरहनु भएको थियो। मनमा के भयो कुन्नी म, केही बोल्न सकिनँ। एकतमासले तिम्रा घरछेऊको सालघारी हेर्दै टोलाउन थाल्यो मन। ती सालाघारी जो म दुलही बनेर तिम्रो घरमा आउँदाको जोस्टाल्जिया भयो।
तिम्री माइली आमाको मुख हेरें। आँखाभरि आँसु भरिए। दिउँसो सुतेर उठ्दा भोकले पेट कोक्काएको थियो। घरमा खानेकरा थिएन। पल्लो घरमा माग्न पुगेकी थिएँ। माइली आमा घरभित्र हुनुहुन्थ्यो। 'जेठी, के छ खबर तिम्रो ?,' माइली आमाले बुलाकी हल्लाउँदै भन्नुभएको थियो।
'आमा अरु त केही छैन, कस्तो भोक लागेको छ, ब्यानको भात छ र?,' रातो माटोले लिपेर टलक्क पारेको दलानमा थच्च भुँइमा बसेँ।
भोक मीठो कि भोजन मीठो भन्छन्। भोकले कतै नहेरी खाँए। सक्ने बेलामा हरियो माखो देखेँ। माइली आमाको मन राख्न सुटुक्क मोखो फाले र सोरसार खाएर हिँडे। त्यही नोस्टाल्जिया भयो क्यार। अस्ति माइली आमाको घर हेरेर रुँदै थिएँ। टाउको घुमाएको थिएँ मन तल बारीतिर गयो।
बिहे भएपछि तिम्री बहिनी, तिमी र म त्यही बारीमा पुगेर छेऊको दबदबेको घाँस र कोदोको नल काटेका थियौं। बारीमा फलेका काँचो बदाम भुइँ खोस्रेर खाएका थियौं। फेरि बारी नजिकैको खोला त्यही घुमेर आयौं, सम्झेँ खोलामा तिमी र म नुहाउन अनि लुगा धुन पुगेका थियौं। अनि त्यो आँगन जहाँ जतिखेर तिम्रा आफन्त आउँथे त्यतिबेला म, तिम्रा आफन्त जो मभन्दा ठूला थिए, पछ्यौरी टाउकोमा राखेर हरदम ढोग्न तयार भएर बस्थेँ। एकपटक त तिम्री आमाले भनेकी थिइन्, 'तिमी त कस्ती डाँडापारीबाट कोही नचिनेको मान्छे आए पनि ढोग्छौ, मैले जसलाई भन्छु उसलाई मात्र ढोग्ने गर अबदेखि।'
नयाँ दुलही बनेर मैले तिम्रो घर सजाउन र तिम्रो परिवार कसरी रिझाउँ भन्ने लाग्थ्यो सधैँ। त्यसैले त कसैले नदेख्ने गरी रातो दोसल्लाको छेऊले आँखा छोपेर कसौडी माझेको कालो मोसोसँगै आँसु पनि तप्प खसेका थियो धाराको पानी जम्मा हुने पोखरीमा। धेरै घुमिरह्यो मन। बारी, सालघारी माइली सासुको घर, अनि बारी नजिकैको खोला। अनि तल ती खेतमा पुग्यो फेरि मन। जहाँबाट दिनको तीन भारी पराल बोकेर धरमपानी गुर्जुको घरमा पुग्नुपथ्र्यो। अनि साँझ आएर एक बटुको जाँडको झोल र पुवा ।
अहो, त्यही ढल्छु कि जस्तो भयो। मानसपटलमा घुमीघुमी आइरह्यो त्यो सम्झना। त्यतिबेला तिम्रा आमा र काकीसँग एक शब्द पनि नबोली ती निबुवाहरु एक ठाउँमा राख्न सहयोग गरेँ। उनीहरु मेरो मुखमा हेर्थे। म सोच्थें, 'मलाई अब सधै यहीँ बस्छे भनेर यसरी हेरेका होलान् म कहाँ बस्छु र?'
फेरि कान्छी सासुको अनुहार देखेर मन छट्पटियो। दुलही बनेर आउँदा मलाई सारी लगाइदिएर माइत पठाउने उनै थिइन्। मिलमा धान कुटाउन र कोदो पिसाउन गएका बेला एककिलो चिउरा किनेर लैजाऊँ र मेरो घरमा राख। अनि भोक लागेको बेला खाउँ। तिमी सानै छौं। भोकले तिमीलाई कहाँ न्याय गर्ला र फेरि सबैको अगाडि रोयौं भने। मेरो बालमन हाँस्थ्यो। उनी भन्थिन्, 'नहाँस् भनेको मान है।' हो नि गुन लगाएकी थिइन् उनले। मेरै बिहेको वर्ष उनले झण्डै पाँच बहिनी छोरीपछि छोरा जन्माएकी थिइन्। भन्थिन्, 'मोरी तिमी त लक्षिनकी बुहारी रहिछौ, तिमी बुहारी बनेर आएपछि मैले छोरो पाएँ।'
निबुवा उठाउने काम सकेर बाँसको लिस्नो चढेर माथिलो तलामा पनि पसेकी थिएँ। मेरो कपडा राखेको झोला हराएको थियो तिम्रो घरभित्र। झोला खोजिरहेकी थिएँ, तिमी र तिम्रा भाइ बिस्तरामा सुतेका थियौ। तिम्रो टाउको र खुट्टा देखिएका थिए। मुटु ढक्क फुल्यो। सायद तिमीले देख्यौ मलाई। यतिका वर्षपछि भएको भेट र तोडिएको सम्बन्धमा म कसरी तिमीसँग बोलु? अनि के भनु? म जान हतारिरहेको थिएँ। तिमी एक्कासि उठेर समात्-समात् भन्दै थियौं। म चुपचाप तिम्रो घरबाट फेरि निस्किएर भागेकी थिएँ। तिम्रो चंगुलबाट भागेँ भन्दै अनि निष्फिक्री भएकी थिएँ, 'आकासमा कावा खान हिडेको चरी जस्तैगरी।'
पितृसतात्मक समाजमा दशकौंपछि तिम्रो नामको आवश्यकता परेको भन्दै मलाई तर्सारहन्छ। मलाई तिमी सम्झन मन छैन। तिमी मेरो वरिपरि देख्न मन छैन। विपनामा मात्र होइन तिमीसँग सपनामा पनि भेट्न नपरोस् भन्ने एउटै इच्छा छ। र पनि हेरन यो राज्य, म एक्लो छु भन्छु कानुन पतिको खोजी गर्छ। तिम्रो नामका कारण बन्ने मेरा कानुनी काम र मेरा सन्तानको कामै नगरी त्यसै बसिदिउँकी जस्तो पनि लाग्छ। म लाचार अनि बाध्य छु । तिमीले छोडेको र मैले संगालेको मातृत्वको माया दिगो राख्नलाई तिमीलाई जोडनु पर्छ मैले। तर जोडिन मन छैन।