तपाईंहरूको पार्टीले प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय किन गरिरहेको?
कांग्रेसले हाम्रो नेतृत्वमा सरकार बनाउन समर्थन गर्ने भएकोले हामीले एमालेलगायत सबै दललाई हाम्रो नेतृत्वमा सरकार बनाउन आग्रह गरेका हौं।
किन यो सरकार फेर्नुपर्यो?
शान्ति प्रक्रियाको टुंगो, वार्ताद्वारा संविधानमा विवादित रहेका विषय टुंग्याएर संविधानको कार्यान्वयन र पुनर्निर्माण यी तीन कार्यभार पूरा गर्न र जनतालाई राहत दिने कुरालाई केन्द्रबिन्दुमा राखेर एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन हामीले पहल गरेका हौं। हाम्रो कैयन प्रयासका बाबजुद यी कुरामा प्रगति हुन सकेन। सरकारको काम परिणाममुखी हुन सकेन। यो अवस्थामा नेपाली कांग्रेसले हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने प्रस्ताव र सहमति दिएकोले हामीले यस्तो निर्णय गरेका हौं। हामीले एमालेलगायत सबै पार्टीलाई हाम्रो नेतृत्वको सरकार गठन गर्नका लागि आह्वान पनि गरेका छौं ताकि हाम्रो साझा कार्यभार पूरा हुन सकोस्।
एमालेले तपाईंहरूको आह्वान स्वीकार गरेन भनेे तपाईंहरू कहिले सरकारबाट बाहिरिनुहुन्छ?
आजको दिन एमालेको निर्णय पर्खिन्छौं, त्यसपछि उपयुक्त निर्णय लिन्छौं।
अबको कति दिनमा नयाँ सरकार बन्ला?
एमालेको निर्णय आएपछि त्यसमा आधारित रहेर घटनाक्रमहरू अगाडि बढ्छन्।
के दुई-तीनभित्रमा नयाँ सरकार बन्ला?
दुई-तीनभित्रमा अर्को सरकार कसरी बनिसक्ला र!
यो बजेट सेसनभन्दा अगाडि नै सरकार बन्ला?
अब एमालेले पहिलो आफ्नो निर्णय लिओस् वा सार्वजनिक गरोस्। त्यसपछि हामी एमालेसँग अन्तिम कुरा गर्छौं र निर्णय लिन्छौं।
डेढ वर्षको संसदको बाँकी अवधिमा कांग्रेस र एमाओवादीले नौ-नौ महिना सरकार चलाउने सहमति भएको हो?
त्यसप्रकारको सहमति बनिसकेको अवस्था त हैन, विभिन्न प्रकारका प्रस्ताव र विकल्पहरू आइरहेका छन्। तर अहिलेसम्म त्यस विषयमा कुनै सहमति भइसकेको छैन।