सोमबार पक्राउ परेका क्यानेडेली नागरिक रोबर्ट पेनरलाई नेपालको अध्यागमन विभागले भिसा शर्त उल्लङ्घन गरेको आरोपमा दुई दिनभित्र नेपाल छाड्न निर्देशन दिएको छ।
अध्यगमन विभागका अनुसार उनी वर्किङ भिसामा नेपाल आएर अनुमति नलिइकन ‘अन्य’ कामहरू पनि गर्दै आएकाले नेपाल छाड्न भनिएको हो।
तर अन्य कामहरु भनेको के हो अध्यागमन विभागले खुलाएको छैन। पेनर ‘क्लाउड फ्याक्ट्री’ नाम गरेको सूचना प्रविधि सम्वन्धी संस्थामा काम गर्थे। ‘हामीले आज उनीमाथि लागेको आरोपको अनुसन्धान गर्यौ। अनुसन्धानले आरोप पुष्टी भएकाले दुई दिन भित्र नेपाल छाड्न आदेश दिएका छौं,’ अध्यागमन बिभाग प्रमुख केदार न्यौपानेले सेतोपाटीसँग भने, ‘देश छाड्न भोलि र पर्सि गरी दुई दिनको समय हामीले दिएका छौं। नेपाल छाड्ने तयारी गरून् भनेर दुई दिनको समय दिएका हौँ।’
उक निर्णय अनुसार अब पेनरले बुधबार सम्ममा नेपाल छाडिसक्नुपर्ने छ।
न्यौपानेका अनुसार पेनरलाई युनाइटेड मिसन टु नेपालमा काम गर्ने उनका बाबुका साथीलाई जिम्मा लगाईएको छ।
नाम उल्लेख नगर्ने शर्तमा विभागका एक अधिकारीले भने, ‘पेनरले नेपालको संविधान र आन्तरिक राजनीतिमा अनावश्यक चासो राख्ने र ‘समस्या श्रृजना’ गर्ने देखिएकाले उनलाई देश छाड्न आदेश दिइएको हो।
हिजो पक्राउ परे लगत्तै पेनरले आफूलाई प्रहरीले पक्राउ गर्नुको कारण उल्लेख नगरेको सामाजिक सञ्जालमा बताएका थिए। यसले टुइटरमा समेत बहस सृजना गरेको थियो।
नेपाली राजनीतिबारे चासो राख्ने पेनर टुइटरमा सक्रिय छन्। उनले सामाजिक सञ्जालमा टिप्पणी, बहस र कतिपयसँग विवाद समेत गरेका थिए।