अत्यधिक गर्मीसँगै परेको खडेरीका कारण वनजङ्गलमा लागेको डढेलोबाट यस क्षेत्रमा धनजनको ठूलो क्षति भएको छ । लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका वनजङ्गलमा लागेको डढेलोबाट अहिलेसम्म छजना मानिसको मृत्यु भइसकेको छ भने सयौँं घर जलेर सखाप भएका छन् ।
वनजङ्गलमा लागेको डढेलोबाट यस क्षेत्रका पहाडी जिल्लामा बढी क्षति पुगेको छ । डढेलोबाट लागेको आगोले अहिलेसम्म गुल्मीमा चारजना र अर्घाखाँचीमा एक जनाको र पाल्पामा एकजनाको मृत्यु भइसकेको छ ।
जङ्गलमा लागेको आगोले अहिलेसम्म सबैभन्दा बढी गुल्मी जिल्लामा नोक्सानी भएको छ । जिल्लाका विभिन्न गाविसका जङ्गलमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै एकसय घर जलेर नोक्सान भएका र सयाँैं पशु चौपायाको समेत जलेर मृत्यु भएका छन् । गुल्मी जिल्लामा पछिल्लो पटक शनिबार जिल्ला सदरमुकाम तम्घासदेखि झन्डै ३५ किलोमिटरको दुरीमा पर्ने बडागाउँमा भीषण आगलागी हँुदा एकजनाको ज्यान जानुका साथै करिब ७१ घर गोठ जलेर नष्ट भए । साथै आगोले जलेर एक वृद्धको पनि मृत्यु भयो ।
जिल्लाको वडागाउँ गाविस वडा नं १, २ र ३ मा भएको आगालागीबाट ७१ घर गोठ जलेर नष्ट भएको र आफ्नो घर जोगाउने क्रममा आगो निभाउँदा जलेर वडागाउँ–१ निवासी ६५ वर्षका मेहरसिंह रासकोटीको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए।उनका अनुसार शनिबार नै थानपति गाविस–५ जङ्गलबाट बस्तीमा फैलिएको आगोले पाँच घर जलेर नष्ट भए ।
आगालागीकै कारण शुक्रबार गुल्मीको इस्मा दोहोलीको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए । यसअघि चैत २९ गते स्थानीय सामुदायिक वनमा लागेको आगो निभाउन गएका मलागिरी गाविसका कमल खड्का जलेर घाइते भएका थिए । उनको काठामाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । गुल्मी जिल्लामा अहिलेसम्म करिब २५ हजार हेक्टर वन आगोले नष्ट गरेको र आगो नियनत्रणका लागि भएका प्रयास प्रभावकारी हुन नसकेको गुल्मीका प्रमुख वन अधिकृत विशाल घिमिरेले जानकारी दिए।
गत महिना चैतको मध्यबाट सुरु भएको अत्यधिक गर्मी र खडेरीका कारण वनजङ्गलमा लागेको डढेलोले लुम्बिनी अञ्चलका ६ जिल्लाको करिब एक लाख हेक्टर वन सखाफ बनाएको छ ।
लुम्बिनी अञ्चलका चुरे क्षेत्रको अधिकांश भाग र तराई क्षेत्रको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको वन क्षेत्रमा डढेलोले ठूलो क्षति पु¥याएको छ । आगलागी नियन्त्रणमा आउन नसक्दा वन नजिकका बस्ती, वन्यजन्तु र बोटबिरुवामा समेत क्षति पुगेको छ ।
जिल्ला वन कार्यालय पाल्पाका अनुसार जिल्लामा रहेको ७१ हजार १५० हेक्टर कुल वन क्षेत्रफलमध्ये ५० प्रतिशत क्षेत्रफल सामुदायिक वनले ओगटेको छ । यसमध्ये जिल्लामा रहेका ८५ वटा सामुदायिक वन पूर्णरुपले आगलागीबाट नष्ट भएको प्रमुख जिल्ला वन अधिकृत दधिलाल कँडेलले जानकारी दिए। उनका अनुसार अहिलेसम्म झन्डै पाँच हजार हेक्टर क्षेत्रफलमा आगोले क्षति पुर्याएको छ ।
यसै क्रममा आगो नियन्त्रणमा खटिएका एक व्यक्तिको आगोमा परी मृत्यु भएको छ र अन्य दुई युवा घाइते भएका छन् । पाल्पाको सोमर सामुदायिक वनमा आगो नियन्त्रणमा गएका छेका गाविसका ५४ वर्षीय बालनरसिंह रायमाझीको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट ३३ घर र ३५ गोठ जलेर नष्ट भएका छन् ।
यस्तै अर्घाखाँचीमा पनि जङ्गलमा लागेको आगो घर नजिकै आएपछि निभाउन जाँदा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धातिवाङ गाविस– ९ की मखमली विकको केही दिन अघिनै आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय आर्घाखाँचीले जनाएको छ । चैतको दोस्रो सातादेखि सुरु भएको जङ्गलको डढेलोले करिब १८० घर गोठ जलेर क्षति भएको र एक दर्जन पशु चौपायाकोसमेत जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
अर्घाखाँची जिल्लामा १९ हजार हेक्टर वन क्षेत्रफलमा आगलागी भएको अनुमान गरिएको छ । वन डढेलोबाट तराईका जिल्लामध्ये सबैभन्दा बढी नवलपरासी जिल्लामा क्षति पुगेको छ । यस जिल्लाको कुल वन क्षेत्रफल एकलाख २२ हजार ३६५ हेक्टरमध्ये करिब ४० हजार हेक्टरमा आगालागी भएको अनुमान छ ।
यस्तै, रुपन्देहीको चार हजार हेक्टरमा आगलागी भएको छ भने कपिलवस्तु जिल्लाको ६६ हजार २११ हेक्टर वन क्षेत्रफको १३ हजार २४२ हेक्टरमा आगलागी भएको छ । भौगोलिक विकटता, सीमित स्रोतसाधन, झाडी, जङ्गल र ठूलो हावाहुरीका कारण आगोलागी नियन्त्रणमा ल्याउन समस्या परेको जिल्ला वन कार्यालयले जनाएका छन् । आगोलागी नियन्त्रणका लागि जिल्ला वन कार्यालय, सामुदायिक वन, साझेदारी वन, सुरक्षाकर्मीलगायतको संलग्नतामा अग्निनियन्त्रण दस्ता बनाई नियन्त्रणको प्रयास भइरहेको जनाए पनि त्यो प्रभावकारी हुन छैन । रासस