प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि सबै दलले सामूहिक रुपमा स्वयम्सेवक परिचालन गर्नुपर्ने बताएका छन्। शनिबार सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा उनले दल विशेषले आ–आफ्नै स्वयम्सेवक परिचालन गर्दा समस्या आउनसक्ने भएकाले सबै दलहरूबाट परिचालन हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणले स्वयम्सेवक परिचालनको कार्यविधि बनाएर समन्वय गर्ने पनि बैठकमा बताए । ‘सबै स्वयम् सेवकको रेकर्ड राखेर यो अभियानलाई संयुक्त रुपमा सञ्चालन गर्नुपर्छ,’ ओलीले भने, ‘जेठ १ देखि १५ दिनका लागि यो अभियान चलाऔं। यो अभियान खासगरी सामूहिक आवास निर्माणका लागि केन्द्रित गरौं।’
पुनर्निर्माणका नाममा स्वदेशी र विदेशी संस्थाहरूले गरेको खर्चको पनि गम्भीरतापूर्वक अनुगमन गर्न र उनीहरुले स्वयम्सेवाका रुपमा गर्न चाहने कामको पनि विधि बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ओलीले निर्देशन दिए।
बैठकमा प्रधानमन्त्री ओलीले मधेसी मार्चाले उठाएका मागहरू वार्ताकै माध्यमबाट समाधान गरिने बताए। मोर्चासँग वार्ता गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए। मधेसको समस्या राष्ट्रको हितलाई सर्वोपरी राखेर नै समाधान खोज्न सकिने प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्रीले सरकारले संसदको अधिवेशन वैशाख २१ गते आह्वान गरिसकेको र सम्भवतः वैशाख २३ गते सरकारको नीति कार्यक्रम संसदमा पेश गर्ने जानकारी दिँदै उनले संसदको प्रभावकारिता मर्यादापूर्वक बढाउन दलहरूलाई आग्रह गरे।
उनले संसदीय सुनुवाई समितिको गठन र संसदको नियमावलीमा भइरहेको ढिलाइले धेरैतिर असर परिरहेकोले सहमतिका साथ विषयहरूको टुंगो लगाउनुपर्नेमा पनि जोड दिए।
सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता महेश आचार्य, एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका नेता पशुपतिशमशेर राणा, नेकपा संयुक्तका अध्यक्ष गणेश शाह, नेमकिपाका नेता प्रेम सुवाल तथा अन्य दलका नेताहरू प्रेमबहादुर सिंह, लक्ष्मण राजवंशी, सिवी श्रीषलगायतले प्रधानमन्त्रीले राखेको स्वयंसेवक परिचालन प्रस्तावमा सहमति जनाए।