बिहीबारदेखि बन्द रहेको नेपाल-चीनबीच रसुवागढीको अन्तर्राष्ट्रिय नाका बन्द गराउने धर्नाकारीमध्ये शुक्रबार चारजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलका सुरक्षा निकायले चारजनालाई नियन्त्रणमा लिई सडक अवरोध गर्ने अन्य धर्नाकारीलाई हटाउने कार्य सुरु गरिसकेकाले आजैबाट यातायात सञ्चालन गराउने बताए।
पहिलो चरणमा विनम्रतापूर्वक सम्झाइ सडकमा नबस्न आग्रह गर्ने र आग्रह गर्दागर्दै पनि अटेर गरेमा बल प्रयोगसमेत हुन सक्नेसमेत बताउँदै सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीले सुरक्षा निकायमा स्थानीय प्रशासनबाट यथेष्ट आदेश प्राप्त भइसकेकाले थप सुरक्षा बलसमेत सीमा क्षेत्रमा खटाइसकेको जानकारी दिए।
सरकारी र सार्वजनिक जग्गामा सुक्खा बन्दरगाह बनाउनुपर्ने माग राख्दै स्थानीय टिमुरेवासीले चौबीसैघन्टा सडकमा धर्ना दिएपछि यातायातका साधन आवतजावतमा ठप्प भई दैनिक एक करोड राजस्व घाटा परिरहेको रसुवा भन्सार कार्यालय, टिमुरेले जनाएको छ । रासस