घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने प्रत्यारोपण उपचार नेपालमा लोकप्रिय हुँदै गएको छ। यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ।
पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा दीर्घराज आरसीले बताए।
मीनभवनस्थित सिभिल अस्पतालमा तीन वर्षदेखि प्रत्यारोपण सञ्चालन भइरहेको छ। उनले भने, ‘हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौँ। यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन्।’
खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ। त्यसपछि दोहोर्याएर पनि कठिन र जटिल प्रक्रियाबाट संशोधन शल्यक्रिया गर्न मिल्ने आरसीको भनाइ छ।
प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनःसंशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट काम लाग्ने बनाउन सकिन्छ। यसका लागि विशेष औजार तथा सुविधालगायतका प्रक्रिया आवश्यक हुन्छ।
विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गराउनुपर्ने डा. आरसीले बताए।
शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनःस्थापना गर्ने प्रक्रियालाई ‘अर्थोप्लास्टी’ भनिन्छ। आरसीका अनुसार अर्थोप्लास्टिकका लागि उमेरको हदबन्दी हुँदैन। सिभिल अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका भएको उनको भनाइ छ।
‘अस्पतालमा आउँदा हिँड्नै नसक्ने अवस्थामा रहेका बिरामी प्रत्यारोपणपछि हिँड्नसक्ने भएर घर फर्कने गरेका छन्,’ उनले भने।
प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्न हुँदैन। पलेंटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उर्फने, धेरै उकालो-ओरालो हिँड्ने, रुख चड्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन।
खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ। अस्पतालका अनुसार जोर्नी प्रत्यारोपण गराउनेमध्ये ७० प्रतिशत उपत्यका बाहिरका छन्। तीमध्ये पनि धेरैजसो महिला छन्।
नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौंलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ। रासस