फलामलाई सुन हो भन्दै ठगी गर्ने ४ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।
जसमा एक जना ट्याक्सी चालक र एक जना सुनचाँदी व्यवसायी छन्। भक्तपुर ठिमी १७ घर भइ काठमाडौं मनोहरा कागेश्वरी बस्ने रत्न शाही, चितवन शिवनगर घर भइ काठमाडौं गोकर्णेश्वर बस्ने सुन व्यवसायी पूर्णबहादुर विक, ट्याक्सी चालक भक्तरा थापा र दोलखा घर भइ थानकोट बस्ने पासाङ तामाङ रहेका छन् ।
उनीहरुले फलामबाट बनेको वस्तुलाई सुनको आकार दिई भूईमा खसालेर बृद्धाहरु ठग्ने गरेको ललितपुरका एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए।
उनीहरुले अहिलेसम्म ५ जनालाई ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ। इमाडोल बस्ने ६६ वर्षकी गणेशमाया श्रेष्ठ, ललितपुर प्रयागपोखरीकी ७० वर्षीया दानमाया शाही र एकान्तकुनाकी ७५ वर्षकी मैया खड्कालाई सडकमा फलामबाट बनेको वस्तु फालेर झुक्याइ उनीहरुले लगाएको सुन लिएर जाने गरेको अधिकारीले बताए।
फलामलाई उनीहरुकै अगाडि एक जनाले झार्ने र अर्को आएर उनीहरुलाई सो वस्तु सुन रहेको भन्दै ढाटँदै उनीहरुले लगाएको सुन चाहि लिएर , बाटोमा भेटिएको वस्तु दिएर जाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।