संघीय समाजवादी फोरम नेपालका सांसद डा. वीरेन्द्र महतोले सूर्तीजन्य पदार्थको सेवनले धन र ज्यान दुवै लिने भएकाले बेलैमा यसको उत्पादन, बिक्री वितरण र सेवनमा रोक लगाउनुपर्ने बताएका छन्।
बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स् क्लब अफ काठमाण्डु फेलोसिप डिस्ट्रीक्ट ३२५ ए २ ले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको बृहत्त जनचेतनामूलक कार्यक्रममा सांसद डा. महतोले भने,‘सूर्तीजन्य पदार्थको अत्यधिक सेवनले क्यान्सर रोग लाग्छ, र क्यान्सरले मान्छेको ज्यान त लिन्छ लिन्छ, यसले धन पनि सिध्याउँछ ।’
डा.महतोले पछिल्लो समय सूर्तीजन्य पदार्थको सेवन गर्नेहरुको संख्या अत्यधिक रुपमा बढ्दो रहेकाले यसको सेवनका कारण धेरै युवा कुलतमा फसेको बताए।
उनले नयाँ पुस्ताले धुम्रपानलाई फेसनको रुपमा अवलम्बन गरेको भन्दै बेलैमा सरोकारवालाले ध्यान नदिएपछि यसले ठूलो समस्याको रुप धारण गर्ने बताए।
फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष समेत रहेका महतोले धुम्रपानको लतमा फसेकाहरुले समेत बेलैमा उक्त बानी त्याग्न प्रण गर्नुपर्ने बेला आएको भन्दै सभ्य नागरिक बनेर समाजमा उदाहरण पेश गर्न सुझाव दिए।
उनले छिमेकी देश भारतको विहार प्रदेशमा झण्डै ८ सय अर्बको राजश्व संकलन भैरहकै अवस्थामा मुख्यमन्त्री नीतिश कुमारले कडाई गरेर उदाहरणीय काम गरेको उल्लेख गर्दै नेपालले समेत त्यसबाट पाठ सिक्नुपर्ने सुझाव दिए।
कार्यक्रममा बिशिष्ट अतिथि एवम् अतिरिक्त प्रहरी महानिरिक्षक प्रतापसिंह थापाले कानुनद्धारा बर्जित सूर्तीजन्य पदार्थको सेवन तथा विक्रिवितरणजस्ता कार्यलाई निरुत्साहित पार्न आफुहरु जिम्मेवार ढंगले लागिपरिरहेको बताए।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका कानुन शाखाका उपसचिव खिमानन्द भुसालले सूर्तीजन्य पदार्थको विक्रिवितरण र सेवनवारे मन्त्रालयले यथेष्ट ऐनहरु सार्वजनिक गरिसकेको बताउँदै सबै नागरिकले संयमताका साथ उक्त ऐनहरु पालना गरेर समस्याका समाधान हुने बताए।