चैत महिनामा १० महिलाको हत्या भएको र २७ महिला तथा किशोरी बलात्कारमा परेको एक सञ्चार अध्ययनले देखाएको छ।
सञ्चारिका समूह नेपालले विभिन्न १५ राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनका क्रममा अधिकांश पीडित १० देखि १५ वर्ष उमेर समूहका रहेको देखिएको छ।
अध्ययनका क्रममा सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई दिएको स्थान सन्तोषजनक देखिएको थियो। अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य, छिमेकी, राज्य, पीडक उल्लेख नभएका र अन्य भएको देखाएको छ।
अध्ययनमा गोरखापत्र, कान्तिपुर, नागरिक, नयाँ पत्रिका, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाडाैं पोस्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ् नेपाललाई समेटिएको थियो।रासस