एकीकृत माओवादीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले राज्यले जारी गरेको शिक्षा नीति र नियमको परिधिभित्र रहेर शैक्षिक संस्थाहरुले काम नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
अखिल क्रान्तिकारीले स्वीकृति बिना नै बालबालिकालाई कक्षामा भर्ना लिने र अनावश्यक कार्य गर्ने विद्यालयको हर्कत बढेकाले त्यस्ता विद्यालयविरुद्ध किटानी जाहेरी दिने तयारीमा अखिल क्रान्तिकारी रहेको पनि जानकारी दिएको छ।
अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरी इटहरीमा सञ्चालनमा रहेको बेबिलोन विद्यालयको नाम नै किटेर सो विद्यालयले कक्षा ९ मा भर्ना लिने स्वीकृति नै नलिई १९ जना विद्यार्थी भर्ना गरिसकेको र विद्यालयबाट टाई, पोसाक र शिक्षण सामग्री बिक्री गर्ने व्यापारिक कारोबारसमेत गर्दै आएकाले त्यो कार्य रोक्न दबाब दिने उद्देश्यले प्रशासनको कार्यकक्षमा ताला लगाएको पनि जानकारी दिएको छ।
जिल्लामा सञ्चालित निजी क्षेत्रका धेरै विद्यालयले माथिल्लो कक्षा सञ्चालनको स्वीकृति नै नलिई माथिल्लो कक्षामा विद्यार्थी भर्ना लिइरहेको तथ्य फेला परेको र विद्यार्थीले बोक्न नै नसक्ने गरी पाठ्यपुस्तक खरिद गर्न बाध्य पार्ने गरेको तथा राज्यले दीर्घकालीन र गरिब समुदायप्रति लक्षित गरेर शिक्षा नीति कार्यान्वयन गर्नेतिर ध्यान नदिएको तर्फ पनि गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन चुडाल, केन्द्रीय सदस्य हेमसागर तिम्सिना तथा सुनसरी जिल्ला अध्यक्ष खेम रणपहेलीले जिल्लाको यथार्थ अवस्था चित्रण गर्दै अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गर्ने र विद्यालयले शिक्षाका नाममा गर्दै आएको व्यापारको किटानी जाहेरी दिएर कानुनी दायरामा ल्याउनका लागि जिल्ला शिक्षा कार्यालय र प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरीसमेत दिने अन्तिम तयारीमा रहेको जानकारी पनि दिएका छन्। रासस