तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सुरु गरेको विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको यात्रा धेरैले गरे । ज–जसले यात्रा गरे उनीहरुले आफ्नो जागिरलाई थाती राखेरै सगरमाथा चढेका छन् ।
एक दृष्टिविहीनले सगरमाथा चढ्न खोज्दा भने भइरहेको जागिर नै गुमाउनुपर्यो । जागिरले अभियानमा केही भरथेग हुन्थ्यो, त्यो पनि टुटेको छ उनको ।
जागिर गुमाएरै भए पनि सगरमाथा आरोहण गर्ने प्रयासमा जुट्ने व्यक्ति हुन् बागलुङ जिल्ला सकुवा गाविस–२ मादीका ३२ वर्षीया दृष्टिविहीन अमित केसी ।
‘सगरमाथा चढ्ने प्रस्ताव राखेपछि मलाई शिक्षकको जागिरबाट निकालियो,’ कुराकानीमा अमितले भने – ‘मैले जागिर त्यागेँ, सगरमाथा चढ्ने अभियान त्यागिनँ ।’
बागलुङको रामरेखा निमाविमा राहतका सामाजिक शिक्षक थिए अमित । सगरमाथा चढ्ने योजनासहित विद्यालयमा प्रस्तुत भए । उनले प्रस्ताव राखे, ‘तालिमहरु चल्दा मात्रै अरु शिक्षकको व्यवस्थापन गर्नुपर्ला, अरुबेला पढाउन आइहाल्छु ।’ अलि समयपछि विद्यालयबाट श्रीमतीलाई राख्छौँ, आउनुपर्दैन भन्ने खबर आएपछि उनी थप ढुक्क भए।
‘एक्कासि पुरानो मिति बनाएर अवकाश दिएको पत्र आएपछि पो म झसङ्ग भएँ,’ अमितले भने – ‘अब मेरो सगरमाथा चढ्ने महाअभियानमा साथ दिने आमनेपाली मात्रै छन् ।’ यसरी जागिरबाट निकाल्ने काम तत्कालीन विद्यालयका अध्यक्ष महेन्द्र आचार्य भएको उनले दाबी गरे।
सगरमाथा चढ्ने अभियान सुरु गरेपछि अस्थायी रुपमा केसी हाल चितवनको छिमेकी जिल्ला नवलपरासीको गैँडाकोट नगरपालिका–५ कालिका चोकमा मामाघरमा बस्दै आएका छन् । अहिले आर्थिक जोहो गर्न उनी जिल्ला जिल्ला दौडिरहेका छन् ।
‘ज–जसले सहयोग गर्नुहुन्छ उहाँहरु मेरो अभियानका अभियन्ता बन्नुहुनेछ, हामी पनि केही गर्न सक्छौँ भन्ने देखाउँछु’ – अमितले खुलाए ।
जन्मैदेखिका दृष्टिविहीन अमित परिवारका माइलो छोरा हुन् । स्नातकोत्तर गर्दैगर्दा अभियानकै क्रममा पढाइ पनि रोकिएको छ । श्रीमती विद्या केसीसँगै पाँच वर्षका छोरा अभिजित र आठ वर्षकी छोरी अजनवी छिन् । श्रीमतीले कस्मेटिक पसल चलाएर छोराछोरी पढाउँछिन् ।
उनी भने विश्वकै सर्वोच्च शिखर सगरमाथा चढेर नेपाली झन्डा फर्फराउँदै नेपालकै पहिलो दृष्टिविहीन आरोहीको नाम लेखाउन चाहन्छन् । सन् २०१७ अर्थात् आगामी वर्ष उनी सगरमाथा जाने योजनामा अहिले तालिम लिइरहेका छन् ।
अहिले उनी लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाको नव सदस्य भएका छन् । मौलाकालिकाले सहयोग जुटाउन उनलाई विभिन्न क्षेत्रमा भेटघाट गराइदिने काम गरिरहेको अध्यक्ष सिआर कँडेलले बताए।
अमितले २०१५ मा छ हजार १८६ मिटर अग्लो सोलुको आइल्यान्ड पिक र यो साल छ हजार ६५४ मिटर अग्लो सोलुकै मेरा पिकको सफल आरोहण गरिसकेका छन् । यी दुई वटा हिमाल चढेपछि सगरमाथा चढ्न सक्ने पूर्ण हिम्मत पलाएको केसी बताउँछन् । रक क्लाइम्बिङ, मोटिभेसन कक्षा, डोरी चढ्ने कला उनले सिकिसकेका छन् ।
‘अहिले म नितान्त आर्थिक सङ्कलनकै अभियानमा छु,’ केसीले भने – यो चारवर्षे अभियानभर करिब एक लाख डरल (करिब नेपाली रु एक करोड) लाग्ने रहेछ । खर्च जुटाउने प्रयासमा छु ।’
सामान्य मान्छेभन्दा अन्तर्राष्ट्रियस्तरको पथप्रदर्शक लानुपर्ने, सहयोगी हुनुपर्ने जस्ता कारणले उनको आरोहण यात्रा खर्चिलो बन्न पुगेको हो । तीन वर्षदेखि सुरु भएको उनको अभियानमा अहिलेसम्म करिब रु ११ लाख खर्च भइसकेको छ ।
यसरी अभियान चलाइरहँदा उनलाई घरपरिवारको खासै सहयोग छैन । ‘जान सक्दैन, यो गर्ने काम नै होइन भनेर घरमा भन्छन्, मैले हिम्मत गरिसकेँ अब रोकिँदैन’ – केसीले भने । ‘आमा त मरिन्छ भन्नुहुन्छ’, केसी भन्छन् – ‘घटना त दैलोमा ठोक्किएरै पनि हुन्छ नि ।’
अहिलेसम्म बागलुङ उवासङ्घ, पर्वतका विद्यालयहरु, गैँडाकोटको बाल विकास उच्च मावि, गैँडाकोट मौलाकालिका लायन्सलगायत स्थानबाट सहयोग भइरहेको उनले बताए ।
बालविकास उच्च माविका प्राचार्य दीपक राउत विभिन्न क्षेत्रबाट आर्थिक सहयोग गर्न आह्वान गरेर करिब रु चार लाख सहयोग गरिसकेको बताउनुहुन्छ । दृष्टिविहीनले गर्न सक्छन् भन्ने सन्देश जाने भएकाले सहयोग गर्न मन लागेको उहाँले बताउनुभयो । केसीका ठूलो बुबा नरेन्द्र खड्काले रु एक लाख सहयोग गरेको उनी सम्झन्छन् ।
‘सबै कुरा सम्भव छ भन्ने ठानेर अहिले यो हिम्मत गरेको हूँ,’ केसीले सगरमाथा यात्राबारे भने, ‘राष्ट्रिय पहिचान पनि अर्को उद्देश्य हो । प्लिज हेल्प मी १० डलर ।’
कसरी आयो सगरमाथा चढ्ने सोच
विश्वकै पहिलो सगरमाथा आरोहण गर्ने दृष्टिविहीन हुन् अमेरिकाको सामान्य परिवारका व्यक्ति एरिक। अमेरिकाकै एकजना क्लेफ भन्ने मान्छेले नेपाल आएर म सगरमाथा चढ्ने दृष्टिविहीन युवकको देशको मान्छे हुँ भनेर उनका साथी खेमराज शर्मालाई भनेछन्।
दृष्टिविहीनले पनि गर्न सक्ने कुरा भएपछि खेमराजले अमितलाई यो कुरा सुनाए । त्यसपछि अमितलाई सगरमाथा चढेर पहिलो नेपालीको पहिचान दिने धोको पलायो ।
‘अनि मैले अभियान थालेँ,’ केसीले भने । ठाउँठाउँमा वचन नसहेका होइनन् । उनी यस्ता वचनलाई झिनामसिना ठान्छन् ।
उनको अनुभवमा पछिल्लो समयमा दृष्टिविहीनलाई हेर्ने कोण परिवर्तन भएको छ । राज्यले पनि सम्बोधन गर्न खोजेको छ । तर पर्याप्त आर्थिक, सामाजिक, राजनीतिक र अग्राधिकार राज्यले दिन नसकेको उनी बताउँछन्। कल्याणकारी अवधारणा नभएकाले समस्या आएको उनको बुझाइ छ । नेपालमा पनि वीरेन्द्रराज पोखरेल, खेमराज शर्माजस्ता व्यक्ति कोहीभन्दा कम छैनन् ।
‘धेरै दृष्टिविहीन दृश्य देख्नेभन्दा कम छैनन्, उनीहरुलाई अवसर नै छैन,’ केसीको भनाइ छ । फ्रान्सका लुइस ब्रेलले विश्वमै पहिलो ब्रेललिपि बनाए । ‘नेपालमा जङ्गबहादुर बोगटीले २०२१ मा ब्रेललिपि भित्र्याए, उनी पनि दृष्टिविहीन नै थिए,‘ उनले भने – ‘सबै कुरा सम्भव छ ।’
लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर डिके ढुङ्गानाले उनको अभियानका लागि आफूहरुले पनि सहयोग गर्ने सोच बनाएको बताए।रासस