जघन्य प्रकृतिका मुद्दाहरुको अध्ययन तथा फर्छौट गर्ने सिलसिलामा इलाम प्रहरीले नौ वर्षअघि हत्या गरिएको एक महिलाको हत्याका एक आरोपितलाई पक्राउ गरी म्याद थप गरेको छ।
जिल्ला प्रहरी कार्यालय इलामबाट ६५ सालमा दर्ता गरिएको कर्तव्य ज्यान मुद्दाका दुई आरोपितमध्येका एक इलाम बरबोटे ७ बस्ने १९ वर्षिय हिमाल गुरुङलाई आइतबार जिल्ला अदालत इलाममा उपस्थित गराइ म्याद थप गरिएको हो।
भारतको सिक्किमा लुक्दै बसेका गुरुङलाई प्रहरीले विशेष सुराकी परिचालन गरी घर आएको मौका छोपेर आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक सुशिल कुमार यादवले बताए।
२०६४ साल मंसिर २० गते आफ्नै घरमा सुतेकी इलाम बरबोटे गाविस ७ बस्ने टिका माया परियारको हत्याका आरोपित गुरुङ घटनालगतै फरार भई भारतको सिक्किममा बस्दै आएका थिए। परियारको निधारमा गम्भीर चोट लागी हत्या गरिएको अवस्थामा २१ गते बिहान उनकै कोठामा शव फेला परेको थियो। हत्या पश्चात मृतक महिलाको घाँटी र कानमा लगाएको सुनको गहनासमेत लुटिएको पाइएपछि हत्या लुटपाटको उदेश्यले गरिएको प्रहरीले निस्कर्ष निकालेको थियो।
घटनास्थल वरपर भेटिएको प्रमाणहरुका आधारमा अनुसन्धान गर्दा महिलाको हत्यामा गुरुङ र अर्का एक युवकको संलग्नता भएको पाइएपछि उनीहरुको खोजी शुरु गरिएको प्रहरी उपरीक्षक यादवले बताए। घटनामा संलग्न अर्का युवक फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए।