अछाम जिल्लाका चार गाविस भूक्षयको अति जोखिममा रहेको पाइएको छ। जिल्लाका अति दुर्गम रहफ, भैरवस्थान, खप्तड र बाब्ला गाविस भूक्षयको अति जोखिममा रहेको पाएको हो।
जिल्ला भू–संरक्षण कार्यालयले गरेको अध्ययनले उक्त गाविसहरु भूक्षयको जोखिममा रहेको पाइएको बताइएको छ।
ग्रामीण क्षेत्रमा रहेका ती गाविसमा रहेका वनजङ्गल मासिनु, पानीका मुहान सुक्नु, पहिरो जानु, पहिलेको तुलनामा मौसममा परिवर्तन आउनुलगायतका सङ्केत देखिएकाले भूक्षयको अति जोखिम रहेको जिल्ला भू–संरक्षण कार्यालय, अछामले जनाएको छ। तीनवटा नगरपालिका र ५५ वटा गाविस रहेको जिल्लाका अन्य केही गाविससमेत जोखिममा रहेको बताइएको छ।
करिब नौ महिना अगाडि मात्र जिल्लामा स्थापना भएको जिल्ला भू–संरक्षण कार्यालयले जिल्लाको भूक्षय नियन्त्रण पानीका स्रोतको संरक्षण वातावरण अनुकूलनलगायतका क्रियाकलाप सञ्चालन गरिरहको जिल्ला भू–संरक्षण अधिकृत शिवप्रसाद पोखरेलले बताउनुभयो। रासस