प्रधानमन्त्री केपी शर्मा ओलीले घुमघामका लागि राम्रो गन्तव्य भएको भन्दै निर्धक्कसाथ नेपाल भ्रमण गर्न पर्यटकहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार घुमफिर वर्ष २०७३ को शुभारम्भ गर्दै प्रकृति, पशुपंक्षी, संस्कृति र हिमालप्रेमीका लागि नेपाल संसारमै उत्कृष्ट गन्तव्य भएको बताए। उनले गत वर्षको भुकम्पले १५ प्रतिशत मात्र क्षति भएको भन्दै पर्यटकहरुका लागि नेपाल पूर्ण रुपमा सुरक्षित रहेको बताए।
उनले भुकम्पले नेपाल पूरै ध्वस्त भयो भनेर ठूलो हल्ला मच्चाइएका कारण नकारात्मक सन्देश प्रवाह हुँदा पर्यटकहरुको आवागमनमा कमी आएको भन्दै हल्लामा विश्वास नगर्न पर्यटकहरुलाई आग्रह गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विविधता झल्काउने तस्वीरहरुको अवलोकन गरेका थिए।