करिब चार हजार मिटरको उचाइ। आकाशबाट हिउँका डल्ला एकोहोरो वर्षिरहेका थिए। घुँडासम्म आउने हिउँले पुरिएको बाटो पहिल्याउन पनि मुस्किल भइरहेको थियो।
नाकै ठोकिने जस्तो उकालोमा चिसो र अक्सिजनको कमीले ज्यान त्यसैत्यसै आलस्य भइरहेको थियो। लगातारको वर्षा र हिउँबाट बच्न प्लाष्टिकले बेरेको शरीर अनि मास्क र चश्मा लगाएका कारण दायाँबायाँ केही हेर्ने र देखिने अवस्था थिएन।
लेक लाग्ला भन्ने डर। त्यसैले साथीभाइ र अनुभवीहरूको सुझावअनुसार अदुवा, भटमास अनि मिस्री गोजीबाट निकालेर कुटुकुटु पार्दै उकालो काट्ने प्रयास गर्यौं। कतिपयले त हिउँबाट जोगिन अनुहारमा सातु दले। हामीले चाहिँ तातो पानीमा घोलेर सातु खायौं। पुगेर फर्किनेहरूलाई मन्दिर पुग्न कति टाढा छ भनेर सोधेर हैरान नै पारियो।
पूजा गरेर फर्किने र जानेहरूको लर्कोले साँघुरो बाटोमा पदयात्रीहरूसँग ठेलमठेल गर्दै म र साथी रोशन बुढाथोकी गत वर्षको वैशाख १२ गते शनिबार ताप्लेजुङको विकट ठाउँमा रहेको पाथीभरा देवीको मन्दिर जाँदै थियौं। छातेढुंगाबाट झन्डै चार घन्टाको उकालो पैदल यात्राबाट लखतरान भएका बेला मन्दिर आउन लागेको जानकारी फर्किनेहरूले दिँदै थिए। लामो उकालो चढेर पहाडको टुप्पो नजिक पुगेर सुस्केरा हाल्न नपाउँदै एक प्रकारको आतंक आइलाग्यो। रिंगटा चलेजस्तो एक्कासि शरीर फनन घुमेजस्तो भयो। म उभिएको माथिबाट हिउँका डल्ला पहिरोजस्तै आफूतिर खस्न थाले। नजिकै समाएर आफूलाई सम्हाल्ने केही उपाय थिएन।
‘ए भुइँचालो आयो ... भुइँचालो...’ भन्दै माथिबाट दुई जना युवायुवती अतालिँदै म नजिकै झरे। पहाडै खस्लाजस्तो कम्पन आयो। भीरबाट लड्नबाट जोगिन गुराँसको बोट समात्न खोजें तर सकिनँ। सबै रूख आफैं उडौँलाजस्तो गरी हल्लिरहेका थिए। हल्लिरहेको भित्तो समात्न खोजें, त्यहाँ पनि हिउँमात्र थियो।
बाँचिएला जस्तो लागेन तर जसोतसो आफूलाई सम्हाले। पछाडि फर्किंदा थुप्रै मानिसहरू पाथीभरा माताको नाम लिँदै डरले चिच्याइरहेका थिए। साथी रोशन पनि कराउँदै नजिकै यात्रु विश्रामस्थल पुगेर सम्हालिँदै थिए। मन्दिर जाने र फर्कने सयौं तीर्थयात्रु आतंकित भए। तर हामी सबैको भाग्य भन्नुपर्छ कोही कसैलाई केही भएन। भूकम्प गएको बेला हामी पुगेको त्यो ठाउँबाट एउटा मात्र ढुंगा लडेको भए त्यसभन्दा तलतिर हिँडिरहेका सयौं तीर्थयात्रीको ज्यान जानसक्ने जोखिम थियो। पहिरो गएको भए त झन् हामी सबै पुरिने सम्भावना थियो।
पहाडै हल्लिने गरी गएको भुइँचालोको आतंक कम भएपछि हामी मन्दिरतिर लाग्यौं। मन्दिर परिसर हिउँले पुरिएको थियो। यात्रुहरू बस्न बनाइएका टिनका टहरा हिउँले पुरिएर बस्न नसक्ने अवस्थामा देखिन्थे। बाक्लो हिउँको वर्षाको पर्वाह नगरी हामीले पालैपालो पूजा गर्यौं। एकछिन अगाडि बाटोमा हामीलाई आतंकित पारेको त्यो भूकम्पले पहाडको टुप्पोमा रहेको मन्दिरको पछिल्लो भाग केही क्षति पुर्याएको पुजारीले सुनाउँदै थिए। हिउँको चिसोले हात निकै कठांग्रिए। पूजा सकेर बत्ती बालेर होम गरेको कोठामा गएर हात सेकायौं। चिसोले निकै गाह्रो पारे पनि हिउँमा बसेर फोटो खिच्यौं। पहिलोपटक हिउँमा खेल्न पाएका साथी रोशन निकै उत्साहित हुँदै हिउँमा खेल्न मन गर्दै थिए। चिसो हिउँ अनि लेक लाग्ने डरले धेरै बस्न हुँदैन भनेर हामी मन्दिरबाट फर्कियौं।
जसोतसो उकालो चढेका हामीलाई फर्कन निकै गाह्रो भयो। ओरालो झर्दा हिउँमा चिप्लिएर हिँड्न निकै गाह्रो हुँदो रहेछ। तर लठ्ठी टेकेपछि अलि सजिलो भयो। ओरालो झरेर माथिल्लो फेदी पुगेपछि होटलमा सुनियो- भूकम्पले काठमाडौंमा थुप्रै मान्छे मरे रे। धरहरा पनि ढल्यो रे। माथिल्लो फेदीमा जसोतसो मोबाइलको नेटवर्क लाग्दो रहेछ। तत्काल काठमाडौंस्थित बीबीसी नेपाली सेवाका सहकर्मी सञ्जय ढकाललाई फोन गरें। उनले धरहरा ढलेको र थुप्रै मान्छे मरेको कुरा सुनाए। त्यसपछि मैले विराटनगरतिर फोन लगाएँ। कतै सम्पर्क हुन सकेन। घरको हालखबर कतै पाइएन। बल्ल–बल्ल सहकर्मी बन्धु पोखरेलसँग फोनमा कुरा भयो। उनले भूकम्पको खबर सुनाए। घरमा फोन सम्पर्क नभएकाले उनलाई मेरो घरसम्म पुगेर बुझ्न भनें।
मोरङ प्रहरीका ततकालीन प्रवक्ता डीएसपी प्रभु ढकाललाई सोधें। उनले मोरङमा १५ जना घाइते मात्र भएको जानकारी दिएपछि अलि ढुक्क भएँ, घरपरिवार सबैलाई ठिकै रहेछ भनेर। तर बरगाछीस्थित साजनको चिया पसलमा सधैजसो भेट हुने दाइ कृष्ण पौडेलको भूकम्पमा परी काठमाडौंमा निधन भएको खबरले निकै पीडा भयो। केही दिन पहिले प्रवीन खड्कासँगै मोटरसाइकलमा काठमाडौं जाँदा बाटोमा सूर्यमुखी फूल अगाडि खिचेर फेसबुकमा पोष्ट गरेको कृष्णदाइको फोटो झलझली सम्झिएँ, अनि चिया पसलका गफ पनि।
त्यसपछि हामी फेरि ओरालो झर्यौं। बाटोमा भेटिएको एउटा टोली निकै हतास देखें। काठमाडौंबाट पाथीभरा दर्शन गर्न आएको ३९ जनाको टोली माथिल्लो फेदी पुगेलगत्तै भूकम्पको विनास सुनेपछि मन्दिर नपुगी फर्किएका रहेछन्। फोन पनि लाग्दैन, के भयो होला भनेर उनीहरू निकै चिन्तित देखिन्थे।
सिमसिमे झरीमा रूझ्दै हामी छातेढुंगा आइपुग्यौं। सुकेटार फर्कन सयौं तीर्थयात्रीहरू गाडीको पर्खाइमा थिए। हिउँ र पानीले कच्ची बाटोमा गाडी चल्ने सम्भावना कम देखेपछि हामी दुई जना चाहिँ मोटरबाटो पछ्याउँदै सुकेटारतर्फ पैदल लाग्यौं। हिलाम्मे भएको चिप्लो बाटोको साढे तीन घन्टा हिँडेर राति ८ बजे हामी सुकेटार आइपुग्यौं। त्यहाँ हाम्रो मोटरसाइकल थियो। मोटरसाइकल चढेर हामी फुङलिङ झर्यौं। भूकम्पको त्रास हुँदाहुँदै पहाडको भिरालो ठाउँमा बनाइएको चार तले गेष्ट हाउसमा बास बस्यौं। झण्डै १३ घन्टाको हिँडाइले जीउ निकै थाकेको थियो। त्यसैले होला रातभर निद्रा परेन। अर्कोतिर विनासकारी भूकम्पको त्रासले पनि डेरा जमाएको थियो।
वैशाख १३ गते आइतबार विहान ८ बजे फुङलिङबाट हिँड्यौं। बाटोमा खाजा खाएर फिदीम आइपुग्दा करिब साढे १२ बजेको थियो। पाँचथरका तत्कालीन डीएसपी दीपक पोखे्रलसँग भेट गर्न हामी जिल्ला प्रहरी कार्यालयमा पुग्यौं। उनी कार्यालय बाहिर रहेछन्। आउँदैछु भने उनले। हामी टेलिभिजनमा समाचार हेर्न थाल्यौं। टिभीको झ्याप्प गयो।
काठे घर भएकाले निकै हल्लायो।
‘ए फेरि भूकम्पण् आयो’ भन्दै हामी बाहिर निस्कियौं। प्रहरी कार्यालयको गेट नजिकैको घन्टाघर जोडले हल्लियो। वरिपरि ठूलो हल्लाखल्ला गर्दै सडक र चौरमा मानिसहरू भेला भए। प्रहरी कार्यालयमा रहेको सानो पोखरीका माछा माथिमाथि उफ्रिएका थिए। सायद, उनीहरू पनि भूकम्पबाट तर्सिएका होलान्।
एकछिनमा भूकम्पको झट्का सेलायो। त्यहाँबाट हामी निस्कियौं। भूकम्पको डरले सकुशल घर पुगिएला कि नपुगिएला भनेर रफ्तारमा हामी फिदीमबाट उकालो चढ्यौं। घर परिवारबाट बारम्बार फोनको घन्टी बजिरहन्थ्यो कहाँ के कस्तो छ भनेर। अघिल्लो दुई दिनको थकाइले विराटनगर आइपुग्ने हिम्मत भएन। जसोतसो इलामको फिक्कल आइपुग्यौं, राति ८ बजेतिर।
फिक्कलको एउटा होटलमा बास बस्यौं। त्यहाँ सबै फेरि भूकम्प आउने हल्लाले त्रसित थिए। घरभित्र सुत्न डराइरहेका थिए। कोही बाहिरै थिए। रातको सवा १० बजे फेरि हल्लायो । ‘फेरि आयो, फेरि आयो’ भन्दै होटलका मानिस कराए। हामी पनि हतारहतार सटर खोलेर बाहिर सडकमा निस्कियौं। एकछिनमा भित्र गयौं र सुत्यौं। धेरै थाकेकाले जे भए पनि अब चाहिँ नउठ्ने भन्दै हामी सुत्यौं। राति पुनः दुईपटक भूकम्पको धक्का आएछ। हामीले थाहै पाएनौं।
विहान उठेपछि पो होटलावालाले भनेपछि झसङ्ग भयौं। धन्न केही भएन। चिया खाएर ओरालो लाग्यौं। दिउँसो करिब १ बजे विराटनगर आइपुग्यौं। साँझ नपर्दै फेरि भूकम्पले हल्लायो। गत वर्षको वैशाख १२ गतेको विनासकारी भूकम्पले ९ हजार बढीको ज्यान लियो। हजारौं घाइते भए। धनजनको क्षतिको विवरण कहालीलाग्दो छ। भूकम्प आएको एक वर्ष पुग्दा पनि पीडितले राहत पाएका छैन। पालमुनिको बासमा सरकारी राहतको आशा छ पीडितहरूलाई। वैशाख १२ को शक्तिशाली भूकम्पपछिको एक वर्षको अवधिमा नेपालमा झन्डै तीस हजारपटक भूकम्पका परकम्प गएका तथ्यांक छ। मुलुक नै तहसनहस हुनेगरी आएको भूकम्पको क्षण सम्झँदा खुबै आङ सिरिङ्ग हुन्छ।