यो आलेखको प्रसङ्ग वरिष्ठ पत्रकार÷अधिकारकर्मी कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनआन्दोन दिवसको पूर्वसन्ध्यामा गरेको गिरफ्तारीको हो। पत्रकारको पहिचान नदिइ साझा यातायातका अध्यक्ष भनेर दूराशय ढंगबाट पक्डिएको छ उनलाई अख्तियारले। डुबेर धरासायी बनेको साझा यातायातलाई सेवाको भावले पुनर्जीवन दिने महाभूल गरेछन् उनले। यस गिरफ्तारीबाट उनलाई पुर्याएको हानी–नोक्सानी र दुःख–सास्तीबाट यही प्रतीत हुन्छ। यस घटनामाथि विभिन्न कोण र पक्ष एवम् विपक्षमा धारणा आइरहेका छन् सञ्चारमाध्यममा। उनको गिरफ्तारीबाट कोही हर्षित भएका देखिन्छन् भने कतिपयलाई यसले चिन्तित तुल्याएको छ। अपरिचित व्यक्तिहरूसँग सहज घुलमिल गर्न नरुचाउने उनको व्यक्तिगत स्वभाव छ। यस व्यवहारले कतिपय व्यक्ति उनीसँग चिढिएका छन् र उनको विपक्षमा उभिएका पनि होलान् ।
तथापि, कनकको छवि नेपाली समाजमा एक पृथक पाराको छ। पेशामा रहेको उनको व्यावसायिकतालाई प्रायः सबैले प्रशंसा गर्ने गरेका छन्। पत्रकारिता क्षेत्रबाट नै उनले नाम कमाएका हुन्। अन्तर्राष्ट्रिय जगतले समेत पत्याएका पत्रकार हुन् उनी। र सत्यका हिमायति हुन्। न्यायका पक्षमा एक्लै भए पनि बोल्ने र निर्भिक भएर लेख्ने व्यक्तिका रुपमा परिचित छन्। सत्य र न्यायको पक्षमा उभिँदा उनको शब्दकोषमा ‘डर’ भन्ने शब्द पाइँदैन। आफ्नो ब्रह्ममा जे जच्योे त्यही कुरालाई नछोडी पच्छ्याउँछन् उनी। त्यसैले, चिप्लो र चाप्लुसीमा अभ्यस्त यस समाजमा उनका मित्रभन्दा वैरीको संख्या बढी देखिएको छ। त्यसमध्येका एक निक्लिए तिनका हानिकारक लोकमान, जो न्वारानदेखिको वल लगाएर बनेका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख।
कसैबाट गलत कार्य भएगरेको देख्ने र सहने सक्ने धैर्यता एवम् क्षमता छैन कनकमा। भारतले मधेस आन्दोलनताका गरेको नाकाबन्दीको विरोधमा खरो भएर उत्रिए उनी। उसले गरेको नाकाबन्दीलाई ‘अघोषित होइन’ यो वास्तविक हो भने उनले। यसैलाई आधार मानेर सशक्त अभियान चलाए, बोले र लेखे पनि । ‘एक्सन ओरिएनटेड’ (क्रियाशील भइहाल्ने) प्राणी भए, त्यसको परिणामबाट बेलाबखत दुःखकष्ट पनि भोग्ने गरेका छन् उनले। उनलाई अहिले आइलागेको अख्तियारको यो फन्दा पनि यसैको एक कडी हो भन्ने यो पंक्तिकारको बुझाइ छ।
किनभने, आजभन्दा तीन वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनकालमा प्रमुख भूमिका निर्वाह गरेका लोकमानलाई अख्तियार प्रमुखजस्तो गरिमामय पदमा नियुक्ति गर्नु हँुदैन भन्ने नागरिक समाजको सशक्त अडान थियो र सडकमा उत्रियो पनि। प्रमुख राजनीतिक नेतृत्वलाई यसमा खबरदारी गर्ने कामसमेत भयो। यही सन्दर्भमा पंक्तिकार, वरिष्ठ अधिवक्ता शम्भु थापा, पत्रकार कनकमणि दिक्षित र दोस्रो जनआन्दोलनका सहिद यमलाल लामिछानेका पुत्र द्रोणप्रसाद माहाराजगञ्ज शीलत निवास परिसरबाहिर सडकबाट गिरफ्तार भए। त्यसबखत विहान करिब ९ः३० बजे शीतल निवासभित्र उनले सपथ लिँदै गर्दा यस समूहले उनको नियुक्ति रोक्ने अन्तिम प्रयास गर्दै थियो। किनभने कार्कीको नियुक्ति भनेको जनआन्दोलनको चरम अपमान हो भन्ने थियो र हो पनि। कृष्णजंग रायमाझी आयोगले ०६२÷०६३ को जनआन्दोलनमा दमन एवम् ज्यादतीका प्रमुख उनी रहेको तथ्य बाहिर आएकोे थियो। उनी तत्कालीन निरंकुश राजाका सबैभन्दा बफदार एवम् प्रियपात्र थिए पनि। उनी मुख्यसचिव भएपछि जनआन्दोलन दबाउन सबैखाले संयन्त्रको प्रयोग गरे तर सफल भएनन्।
स्मरण रहोस्, जनआन्दोलन सफल भएपछि लोकमान अचानक यो मुलुकबाट गायव भए। त्यसबेला उनी भारतका शक्तिकेन्द्रसँग साँठगाँठ मिलाउन दिल्ली बसेको अनुमान गरिएको थियो। त्यसको पुष्टि नेपालका प्रमुख राजनीतिक दलका नेताले पुष्पकमल दाहालले कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रस्ताव गरेबाट हुन्छ। नेपालका राजनीतिक शक्ति यति कमजोर भएका थिए कि त्यस नियुक्तिको दबाब तिनले थेग्न सकेनन्। जनआन्दोलन हाँकेका दलहरूले अख्तियार प्रमुखको सर्वमान्य उमेद्वार बनाए लोकमानलाई। र ‘त्वंशरणम्’को उक्तिलाई चरितार्थ पारे। साथै ती दलका सिफारिसमा तत्कालीन सरकार प्रमुख प्रधानन्यायाधीश खिलराज रेग्मीले कार्कीलाई निसंकोच अख्तियारको प्रमुखमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफरिस गरे।
नेपाली जनताप्रति गरिएको यस अपमानजनक सिफरिस सच्याउन तत्कालीन राष्ट्रप्रमुख रामवरण यादवलाई अधिकारकर्मी, वकिल, पत्रकार, प्राध्यापक, शिक्षक, ईन्जिनियर, डाक्टर लगायतका नागरिक समाजका प्रतिनिधिले शीतल निवास पुगेर अनुरोध गरे। त्यसमा यो पंक्तिकार, शंभु थापा र कनकसमेत सामेल थिए। राष्ट्रपति यादवले उक्त टोलीको अनुरोधलाई गम्भीरतासाथ लिए पनि। र यस सिफारिस सच्याउने पहल गर्ने आश्वासन दिए। तर भोलिपल्ट त्यसको ठीक विपरीत कार्कीको सपत ग्रहणको मिति तोकेर सबैलाई आश्चर्य चकित बनाए उनले। यस नियुक्तिको पछाडि भारतको हात रहेको पछि खुलासा भयो काँग्रेसका अमरेससिंहको एक रेडियो अन्तर्वाताबाट।
भारतले लगाएको नाकाबन्दी खुलेरै विरोध गरेका हुन् कनकले। उनले सामाजिक सन्जाललाई यस अभियानका लागि सशक्त ढंगले चलायमान बनाए। नेपालको आन्तरिक राजनीतिका कारणले मात्र नाकाबन्दी भएको भन्ने भारतले छरेको भ्रम धरैदिन टिक्न सकेन। मोदीले सोच्दै नसोचेको ‘भारत विरोध अभियान’ नेपालीले मुलुकभित्र मात्र होइन, विश्वभरि सशक्त ढंगबाट चलाए। कनक समेतका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका लेख–रचनाले भारतका शासक वर्गको टाउको दुखाइ भयो। हिन्दू, इन्डियन एक्सप्रेस, टाइम्स अफ इन्डियाजस्ता भारतका प्रख्यात एवम् लोकप्रिय पत्रिकाहरूमा उनका ‘आई ओपनर’ (आँखा खोल्ने) लेख लगातार छापिए। नागरिकस्तरबाट भारतको असली अनुहार विश्वसामु देखाउन सफल भयो उनको अभियानले।
नेपालका राजनीतिक दल कमजोर त छँदै थिए। तर नगरिक समाज भने त्यति कमजोर भएको थिएन भन्ने यी उदाहरण हुन्। त्यसैले, यसलाई कमजोर पार्ने शृङ्खला कार्कीको नियुक्तिसँगै सुरू भएको हो। यसका पहिलो सिकार भए शम्भु थापा, त्यसपछि कनकको पालो आयो। नागरिक समाजमा अहम् भूमिका निर्वाह गर्नेमध्येका शम्भुको ‘ल फर्म’मा अख्तियारको आदेशबाट छापा मारियो। र त्यस दिनदेखि यसको थालनी सुनियोजित ढंगबाट भयो। नागरिक समाजलाई आँखाको कसिङ्गर ठान्ने भारत र स्वदेशी शक्तिकेन्द्र दुबैको स्वार्थ यसमा मिल्यो। खिलराज रेग्मीदेखि लोकमानसम्मको नियुक्तिमा सैद्धान्तिक विरोध गर्ने अग्रणी नागरिकमध्येका एक थिए थापा। उनलाई भ्रष्टाचारीको संज्ञा दिएर डाम्ने कोसिस ग¥यो अख्तियारले तर सर्वोच्च अदालतले यसलाई गलत ठहरायो।
शम्भु स्वयम् वकिल थिए र उनीमाथि लागेकोे मुद्दाको प्रतिरक्षा आफैं गरे, लडे र जिते पनि। कनकले यस मुद्दाको प्रतिरक्षा कसरी गर्लान् त्यो त समयले नै बताउला।
कनक पक्राउ परेको सूचना पाएपछि यो पंक्तिकार अख्तियारको कार्यलय टंगालमा पुगेको थियो भेट्न। तर उनलाई भेट्न नदिने जानकारी दिइयो। त्यसपछि उनलाई गौशाला प्रहरी विटमा राखेको सञ्चारमाध्यमबाट खबर आयो। त्यहाँसमेत वकिल र अधिकारकर्मीहरूलाई भेट्न दिइएन। प्रहरी इञ्चार्जले भेट्न नदिने कार्य कानुनविपरीत हो तर अख्तियारको आदेशबाट विवश भएको जानकारी दिए। अनुसन्धानको नाममा सञ्चारविहीनता राखेर लोकमानले गैरसंवैधानिक र गैरकानुनी कार्य गरेका छन्। र कानुन कार्यान्वयन गर्ने प्रहरी निकाय समेतलाई यसमा मुछिन बाध्य पारेका छन्। साथै नागरिकका हक–अधिकार खोसिएको मुकदर्शक भएर बसेको छ ओली सरकार।
रिस उठेका व्यक्तिलाई ‘पानी मुनिबाट भए पनि खोजेर निकाल्छु’ भन्ने गरेका रहेछन् लोकमानले। यसपछि कसलाई भ्रष्टाचारी भनेर डाम्ने सुरसार कसेका छन् थाहा छैन। असली भ्रष्टाचारीभन्दा पनि निर्दोष भएका र व्यक्तिगत रिसिईवीमा परेका व्यक्ति उनका तारोमा पर्ने निश्चित छ। तर एउटा कुरा के पनि सत्य हो भने हाम्रा आदरणीय नेतागणले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्ति गरेर ०६२÷०६३ जनआन्दोलनको राम्रो उपहार दिएका छन् मुलुकलाई। त्यसको प्रतिफल जनआन्दोलन दिवशको पूर्वसन्ध्यामा देखियो र भोगे पनि शम्भुपछि कनकले। यस घटनामा मौनता साँधेका छन् नागरिक समाजका सहयात्री प्रमुख दलहरू। तर हेक्का रहोस् यो उपहार तिनै नेता र प्रमुख पार्टीका लागिसमेत महँगो सावित हुन सक्नेछ भविष्यमा ।
पंक्तिकार अधिकारकर्मी हुन् ।