वैशाख १२ गते शनिबार म ललितपुर सातदोबाटोमा रहेको आफ्नै कार्यालयभित्र थिएँ। दिउँसोको १२ बज्नै लाग्दा केही हल्लिएजस्तो भयो। भित्तामा राखेका फोटा एक्कासी झर्यो। पानीको जार ढल्यो। के भयो भनेर सोच्न नपाउँदै चालक भाइ महेन्द्रले सर बाहिर बाहिर भने। अनि हामी दौडँदै बाहिर निस्क्यौं। कार्यालय बाहिर पार्किङ गर्ने खुला ठाउँ थियो। बाहिर निस्कँदा त सबैतिर हल्लिरहेको। मान्छेहरुको कराइरहेका थिए। त्यो बेला थाहा भयो, भुईँचालो आयो।
हामी उभिएको ठाउँमा एउटा ट्रक पनि थियो, कारबाहीको लागि राखिएको। त्यो ट्रक त कहिले अगाडि र कहिले पछाडि चल्न थाल्यो। चालक नभएको ट्रक यसरी अघि र पछि गर्दा के गर्ने के नगर्ने भन्ने अन्योल भयो। बल्लतल्ल भुईँचालो रोकियो। झट्ट घरमा सम्झेँ। छोरो सिभिल मलमा सिनेमा हेर्न गएको, छोरी धापासीस्थित डाउनटाउन अपार्टमेन्टको अग्लो भवनमा छिन्, श्रीमती एक्लै घरमा। सबैलाई फोन गर्न खोजेँ, फोन लागेन।
त्यहीबेला सेटमा खबर आयो– धरहरा ढल्यो, दुईसयजना मान्छे पुरिए। डिआईजी सा’ब जयबहादुर चन्दले खबर गर्नुभयो–धरहरा ढल्यो, तुरुन्त डोजर या स्काभेटर लिएर आउनुपर्यो। त्यसपछि मैले घरपरिवार बिर्सिएँ। तुरून्तै स्काभेटर खोज्न निस्किएँ। सातदोबाटो चोकमा पुगेपछि एउटा स्काभेटर भेटियो। चालक भाइलाई ल यस्तो भयो जानुपर्यो भनेपछि उनी तयार भए। त्यसपछि हामी साइरन बजाउँदै अघि बढ्यौं। सडकभरी मान्छेको भीड थियो। त्यसमाथि जावलाखेल–कुमारीपाटी सडकखण्डमा महोत्सव पनि भएको। तर साइरन बजेको गाडी र स्काभेटर देख्ने बित्तिकै सबैले बाटो खाली गरिदिए। हामी १० मिनेटभित्रै सुन्धारा पुग्यौं।
सुन्धारा पुग्ने बेला मैले परैबाट धरहरा हेर्न खोजें। मलाई लागेको थियो, माथिको टुप्पो भाँचियो होला। गाडीको अघिल्तिर बसेको थिएँ। तर नजिक पुग्दा पनि धरहरा देखिंदैन। रुखले छेक्यो होला भनेर निहुरिएर हेरेँ, देखिन। हैन कति अग्ला घर बनेछ धरहरा नै छोपिने जस्तो लाग्यो। तर जब नजिक पुगेँ, सोच्दै नसोचेको दृश्य देख्नुपर्यो। त्यति अग्लो धरहरा गर्ल्यामगुर्लुम भएर ढलेको। बडेमानको ढिक्का छरपस्ट छरिएको। वरपर मान्छेको घुईंचो। सबै मलिन र त्रसिद अनुहारमा। हामी भन्दा पहिले त्यहाँ महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्द सर पुग्नुभएको रहेछ। चन्द सरले ल पुरिएका मान्छेलाई बचाउनुपर्यो भन्नुभयो। स्काभेटर लिएर पुग्ने हामी पहिलो थियौं।
तस्विरः एपी
अघि बढ्दा मैले त्यहाँ निकै विभत्स दृश्य देखेँ। मान्छेहरु चिच्याइरहेका। सबैतिर धरहराको भग्नावशेष छरिएका। छेउमा खसेको धरहराको माथिको रेलिङ्ग भित्र तीनजना महिला देखें। रेलिङको जालीलाई ठूलो ढिक्काले चेपेको छ। त्यसभित्र शरीर पुरिएको तर आधी ज्यान देखिएका महिलाहरु छन्। च्यापिएका महिलाहरुको टाउको समाउँदै गरेकाहरुले ल स्काभेटर आयो अब निकाल्न सकिन्छ भने। मैले स्काभेटरका चालकलाई पन्छाउन भनें। म पहिलेदेखि नै दुर्घटनास्थल पुग्ने बित्तिकै फोटो खिच्ने गर्थें। तर त्योबेला क्यामरा निकालेर फोटो खिच्न खोज्दा हात काँप्यो। तर दुईटा भन्दा धेरै फोटो खिच्न सकिन। हंशले ठाउँ छोडेजस्तो भयो।
त्यहाँ प्रहरी उपरीक्षक पोषराज पोखरेल सर आइपुग्नुभयो। मलाई देख्ने बित्तिकै उहाँले भन्नुभयो, ‘ल पाटनमा पनि धेरै घर भत्किएका छन्, त्यहाँ जानुपर्यो, यहाँ हामी हेर्छौं ल हाछेथु उता जानुपर्यो।’ आफ्नो कार्यक्षेत्रमा घर र भवन भत्किएको खबर सुनेपछि म त्यहाँबाट हिँडे। वीर अस्पताल अघिल्तिर एकजना महिला रुँदै थिइन्। मेरो श्रीमान र बच्चाहरु के भयो होला भनेर उनी कराइरहेकी थिइन्। उनको हालत देखेपछि मैले झट्ट परिवार सम्झें। श्रीमती र छोराछोरीलाई फोन गरेँ, लागेन। म हतारिँदै पाटनतिर अगाडि बढेँ।
पाटन फर्कंदै गर्दा सडकभरी मान्छेको उस्तै भीड देखेँ। सबैको अनुहारमा डर, त्रास, भय र अन्योल देखिन्थ्यो। पाटन अस्पताल पुग्दा त्यहाँ घाइतेहरुलाई ल्याईंदै थियो। जता हेरेपनि घाइते। हरिसिद्धिमा घर भत्किएर धेरै मान्छे मरेको खबर सुनेँ। त्यसपछि तुरुन्तै त्यहाँ पुगें।
हरिसिद्धि पुग्ने बित्तिकै त्यहाँ विभत्स दृश्य देखियो। ११ वटा लास देखें बाटोमा। एकजना मान्छे रक्सी खाँदै रहेछ। मैले यस्तो बेलामा पनि किन रक्सी खाएको भनेर सोधें। उसले नजिकैको भत्केको घर देखायो। अलि पर सुताइरहेको शव देखायो र भन्यो–उ त्यो घर मेरो हो, अनि त्यो मेरी श्रीमती। अनि मैले के गर्ने? रक्सी नखाएर के गरौं?
उसलाई जवाफ दिन सकिएन। म नाजवाफ भएँ। त्यसपछि फेरि घरपरिवार सम्झें। फोन गर्दा फेरि लागेन।
त्यहीबेला छोरीले फोन गरिन्। आफू सुरक्षित भएको र भाइ पनि टुँडिखेलमा रहेको बताइन्। तर ममीलाई सम्पर्क हुन सकेन भनिन्। छोराछोरी ठीक छन् भन्ने त थाहा भयो, तर श्रीमतीको पत्तो भएन। एक राष्ट्रसेवक प्रहरी भएको कारणले घरपरिवारको वास्ता नगरिकन उद्धारको काममा जुटेँ।
त्यहीबेला एकजना बुढा मान्छे रुँदै आउनुभयो। अलि पर भत्केको पसल देखाएर भन्नुभयो– म यहीँ भाडामा बस्छु, त्यो पसलमा मेरी श्रीमती मेरो लागि चुरोट किन्न गएकी, हेर्दाहेर्दै पसल भएको घर भत्कियो, उ त्यहीँ पुरिएकी छे। डोजरले पन्छाएर मेरो श्रीमती निकाल्नुपर्यो।
सुन्दा पनि कहाली लाग्ने। त्यसपछि त्यहाँ उद्धार गर्नतिर लाग्यौं। त्यहाँ साथीहरुलाई छोडेर म फर्किएँ। बाटोमा आउँदा श्रीमती पनि ठीक छ भन्ने खबर आयो। त्यसपछि छोरालाई भेट्न भनेर टुँडिखेल पुगेँ। फोन लाग्दैन थियो। भेट भएन। छोरीले एसएमएस गरेर भाइ चाबहिलमा रहेको फुपु दिदीको घरमा गयो भन्ने खबर गरेपछि ढुक्क भएँ र फेरि कार्यालयकै काममा फर्किएँ।
त्यो दिन उद्धारको काममै बित्यो। राति धेरैजना सडकमा बास बसेका थिए। घर भत्किएका र फर्कन नसकेर सडक तथा खुला चौरमा बसेकाहरुलाई धेरै समस्या थियो। भोलिपल्ट त बन्दमा जस्तै बजार पसल सुनसान भए। सडकमा भत्किएका घरका भग्नावशेष र मान्छे मात्र थिए। विस्थापितहरुले पानी समेत पिउन नपाउने स्थिति भएपछि ट्राफिक प्रहरी अग्रसरतामा ललितपुरमा पानी वितरण गर्ने ट्यांकर संघसँग छलफल भयो। ललितपुरका बासिन्दालाई उनीहरुको माग अनुसार निःशुल्क पानी वितरण गर्ने प्रस्तावमा व्यवसायीहरु पनि सहमत भए।
त्यसपछि हामीले पानी वितरण गर्यौं। ललितपुरको जुनसुकै ठाउँबाट पनि फोन गरेको १० मिनेटभित्र ट्यांकर लगेर पानी बाँड्यौं। चार दिनमा हामीले १२ लाख लिटर पानी वितरण गर्यौं। खुल्ला चउरमा र सडकको पेटीमा आश्रय लिएर बस्ने जनताहरुले पानी पिउन पाएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद पनि दियो।
सोच्दै नसोची भुईँचालो आयो। कल्पना समेत गर्न नसक्ने विभत्स दृश्य देखियो। हामीले उद्धार र राहतको लागि आफ्नो तर्फबाट सक्दो काम गर्यौं। तर एउटा महत्वपूर्ण कुरा मैले भन्नैपर्छ। भूकम्प लगायत प्राकृतिक विपत्ती आएको बेला उद्धारको लागि सम्बन्धित निकायले पर्याप्त तयारी गरेको देखिएन। यही भुईँचालोमा हामीलाई भत्केको घर तथा भवन पन्छाउन र पुरिएका मान्छे निकाल्न स्काभेटर, डोजर, क्रेन, ट्रक, साबेल लगायतका सामानको निकै खाँचो पर्यो। तर कतै पनि पर्याप्त पाउन सकिएन। यस्तोबेलामा चाहिन्छ भनेर सम्बन्धित निकायले तयारी नै गरेका थिएनन्। हामी आफैंले अन्य व्यक्तिहरु संग अनुरोध गरेर जुटाएका हौं।