वर्षको पहिलो उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लब पोखराको मैदानमा आज भिड्दै छन्। पाँच लाख ५ हजार राशीको पुरस्कारको हकदार बन्ने अभियानमा दुवैले आफूलाई अब्बल दर्याएका छन्। यद्यपी बाजी कसले मार्छ भन्न सकिने अवस्था छैन्।
पोखरा आउनुअघि आर्मीले मनाङलाई पराजित गर्दै झापा गोल्डकपको उपाधि उचालेको थियो। त्यसको बदला लिन मनाङ आतुर देखिएको छ। राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीलाई मैदानमा उतारेर आर्मी विरूद्धको खेल जितेर आफनो गर्विलो छाप छोड्ने अग्रसर देखिएको छ। आर्मी पनि पोखराको मैदानमा मनाङसँग पराजित हुँदै आएको तितो इतिहासलाई विर्सेर नयाँ श्रृखंला सुरू गर्ने छ।
पोखरामा केही महिना अघिमात्रै आयोजित आहा गोल्डकपमा आर्मी मनाङसँग पराजित भएको थियो। सिमरा गोल्डकपमा पनि आर्मी मनाङकै शिकार भएको थियो। दुई खेलमा पराजित आर्मीले झापामा भने मनाङलाई पन्छाउँदै उपाधि हत्याउन सफल बन्यो।
दुवै टोलीको फुटबल छबी स्वच्छ र सुन्दर छ। कमजोर आक्ने सम्भावना दुवैमा छैन्। तर एक अर्काको रणनीतिलाई बुझेर मात्रै आफ्ना एघार जना खेलाडीलाई परिचालन गर्ने धुनमा दुवै टोलीका प्रशिक्षक छन्।
‘पोखराकै मैदानमा मनाङसित केही महिना अघि पराजित भएका थियौं। अब त्यो घटना फेरि यही मैदानमा दोहोर्याउन चाहन्नौं,’ आर्मीका प्रशिक्षक मेघराज केसीले सेतोपाटीसँग भने,‘झापा गोल्डकपमा पराजित गरेका हौं। फेरि पराजित गर्ने क्षमता राख्छौं।’
आर्मीलाई राष्ट्रिय गोलकिपर विकेश कुथुमाथि पूर्णरूपमा भरोसा छ। भरत खवास र नवयुग श्रेष्ठको स्ट्राइकिङ लाईनले मनाङलाई तर्साउने अपेक्षा गरिएको छ।
मनाङ पनि राष्ट्रिय टोलीको गोलकिपर किरण चेम्जोङको आत्मविश्वासमा खेल्ने छ। घरेलु मैदानमा अनिल गुरूङको प्रदर्शन पनि लोभलाग्दो हुने आशा धेरैले गरेका छन्।
विशाल राईले मध्यपंक्ति सम्हाल्दा ढुक्क हुने छन्। त्यसो त अन्य खेलाडीको प्रर्दशन पनि उत्तिकै लोभलाग्दो छ। आर्मीभन्दा मनाङ राष्ट्रिय खेलाडीको बाहुल्यताले केही उत्कृष्ठ ठहरिने सम्भावना पनि उस्तै छ।
‘झापामा हाम्रो सेट टिम पुरा थिएन्,’ झापामा पराजित हुदाँको यथार्थ सुनाउँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदीका प्रशिक्षक छिरिङ लोप्साङले भने, ‘अहिले पुरा सेट टिम छ। कमजोरी सुधार्दै अगाडि बढेका छौं। पोखराको मैदानमा बनाएको छविलाई अझ उचाईमा पुर्याउने लक्ष्यमा मनाङ छ।’
कास्की जिल्ला फुटबल संघले शनिबार उपाधिको टुंगो लगाई केही महिना विश्राम लिने छ। त्यसपछि यसै वर्षको मध्यमा छैठौं संस्करणको तयारी थाल्ने छ। भूकम्प र नाकाबन्दीले थलिएको अवस्थाकै कारण चैतको अन्त्यमा पुर्याएको मनकामना केवलकार पोखरा कपको विजेतालाई संघले पाँचलाख पाँचहजार नगद पुरस्कार टक्र्याउने छ।
उपविजेताको भागमा पनि दुई लाख ५५ हजार पर्नेछ। मनकामना दर्शन प्रालि.को मुख्य प्रायोजन गरेको प्रतियोगितामा बेष्ट फाईभलाई नगद पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीको मोटरसाईकल चढेर गन्तव्यमा पुग्ने छन्।