वैशाख १२ को भुइँचालोमा घरभित्र चेपिएर बल्लतल्ल निस्किएका सिन्धुपाल्चोकस्थित नागरिक संवाददाता ध्रुव दंगाल आफैं भुइँचालो पीडित हुन्। उनको घर भत्किएर परिवार पालमुनि आश्रित छन्। आफैं पीडित हुँदा पनि उनले सिन्धुपाल्चोक क्षेत्रका समाचार लगातार लेखिरहे। र, लेखिरहेका छन्। भुइँचालोजस्तो राष्ट्रिय विपत बेला फिल्डमा खटिएका नागरिक संवाददाता दंगालसँग सेतोपाटीले लिएको अन्तर्वार्ता :
१) भुइँचालो आउँदा तपाईं र तपाईंको परिवार के गर्दै थियो?
म चौताराको डेरामा थिएँ। झ्यालबाट बाहिर हरेँ, चौतारा धुम्म थियो। आकाशमा कालो बादल मडारिएको थियो। बाहिरी बातावरण नियालिरहँदा झ्याल थरर्र काँप्यो। भुइँचालो आएको पत्तो पाइहालेँ। हत्त न पत्त कुदेर ढोका अठ्याउँन पुगेँ। झ्यालगाह्रो भित्रै ढल्यो, मै भएतिर सोझिँदै। झन्डै त्यसले त्यहीँ किचेको ! घर झन् जोडजोडले हल्लन थाल्यो, पिङ मच्चिएजस्तै। धुलोको मुस्लो कोठामै छि¥यो। साढे चारतले घरको चौथो तलामा थिएँ म। कम्पनसँगै छत ढिका–ढिका भएर झर्न थाल्यो। एउटा ठूलो ढिका खसेर मेरो खाट किचियो। बाहिरबाट ठूल्ठुलो आवाज आयो, हारगुहार सुनिन थाल्यो। बजारमा ठूलै क्षति भइसकेको अनुमान गरेँ। अब यहाँ बसेर बाँचिन्न भन्ने लाग्यो। म भागेँ। भाग्दा भाग्दै घर भासिन थाल्यो। पहिलो तलामा पुग्दा चेनगेट नै दब्यो। भुइँतलाबाट गुहारको आवाज आयो। त्यो आवाज सुरेशकुमार श्रेष्ठको थियो। उनी त्यहीँ बिते। घटनाको चार दिनपछि उनको शव निकालिएको थियो। मेरा शिक्षक थिए उनी।
मैले भाग्ने बाटो पाइनँ। तल जाऊँ त्यो हराइसक्यो, माथि जाउँ छत झर्दैछ, चेनगेट बन्द। मनले सोच्यो, बाँच्न यत्ति लेखेको रहेछ, ज्यानको माया मारेँ। भुइँमा घोप्टो परेर भगवान पुकारेँ। परिवार र आफन्त झलझली सम्झना बनेर आए। सदरमुकामको पक्की घरमा मेरो हालत यस्तो थियो। ढुंगामाटाको कच्ची मेरो घरमा परिवारै मरे होलान् भन्ठानेँ। उफ्रिरहेको घर अब दायाँ–बाँया नाच्न थाल्यो। चेनगेटको माथिल्लो भागमा सानो स्पेस देखा प¥यो। उठेर त्यहाँ जाँदा भेट्न सकिनँ। हारगुहार मागेँ, कोही आएन। घरबेटी बा–आमा घरभित्रै रहेछन्। भाग्ने बाटो खोज्दै आएका उनीहरूले मलाई झ्याम्म अंगाले हाले। म झन् आपत्मा फसेँ। घरबेटी बालाई उचालेँ, लुसुक्क निस्केँ, बाहिरबाट कसैले तानेझैँ लाग्यो। घरबेटी आमा निकै मोटी थिइन्, मुश्किलले उचालेँ, उनी पनि त्यसै गरी निस्किन्।
अब मेरो पालो थियो। अहो ! त्यतिबेलै चेनगेट फेरि हरायो। मेरो सात्तोपुत्लो उडिहाल्यो। तत्कालै चेटगेटबाट स्पेस पहिलेझैं देखा प¥यो। मैले ठूलो आवाजसहित गुहार मागिरहेँ, उफ्रदैँ। कसैले मेरो हात च्याप्प समात्यो। घुँडा डराल्दै म निस्किँए। मलाई तान्ने साजन श्रेष्ठ भाइ रहेछन्। घरबेटीका कान्छा छोरा। हजुरबाआमालाई सुरक्षित ठाउँमा पुर्याएर मलाई लिन आएको सुनाए उनले। मैले उनलाई अंगालो मारेर धन्यवाद दिएँ। बाहिर निस्कँदा चौतारा ध्वस्त भइसकेछ। सेना उद्दारमा निस्किसकेको थियो। चौताराको डाँडाबाट चारैतिरका गाउँमाथि धुलोझारोको मुश्लो उड्दै थियो। खाली ठाउँ घाइते र शवले भरिएको थियो। सेनाले घाइतेको त्यहीँ प्रारम्भिक उपचार थाले। बजारवासी रुवावासी गरिरहेका थिए। चौताराबाट पाँच किलोमिटर वर एकघन्टाको दुरीमा मेरो घर थियो। मोबाइल फोनले पटक्कै काम गरेन। अपराह्नसम्म परिवारसँग सम्पर्क नै हुन सकेन।
मेरा दुवै घर ढलेका थिए। मेरो नयाँ घर टोल उजाडिसकेको थियो। साँझ गाउँ पुग्दा दुई ठूलाबुबा र साइँली आमालाई भर्खर जीवितै उद्धार गरिएको थियो। त्यो दिन गाउँमा लुगाकपडा बोकेर एक जना मधेसी भाइ आएका रहेछन्। भूकम्प जाँदा परिवारका सबै महिला फराकिलो आँगनमा मोलमोलाई गर्दै रहेछन्। त्यही भएर मेरो टोल ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो। आमा, काकी र भाउजूहरू ती मधेसी भाइलाई भगवान मानिरहेका थिए। उता, पालडाँडाकी हजुरआमा घरसँगै पुरिनुभएको थियो। हामी दाजुभाइ मिलेर उहाँलाई निकाल्ने ठूलो प्रयास ग¥यौं। तर सकेनौं। दुई दिनपछि उनलाई सेनाले निकालेका थिए, त्यतिञ्जेल उनी शब बनिसकेकी रहिछिन्। हजुरआमाको माया मार्दै हामी खानपान र बासको व्यवस्थापन गर्न निस्कियौं। बुबाले खण्डहर पन्छाउँदै त्रिपाल निकाल्न भ्याएछन्। त्यो त्रिपाल हाम्रो गाउँमा धान झार्न प्रयोग हुन्थ्यो। बहिनीहरूले भग्नावशेष पन्छाउँदै केही चामल, दाल, जिसामसला, नुन, भाँडा बर्तन, ओड्ने–ओछ्याउने र गुन्द्री निकाले। मैले खुला बारीको पाटामा चारवटा बाँसका कप्टेरा गाडेर त्रिपाल झुन्ड्याएँ। एकमुठी दालभातको तातो खाएर पहिलो रात हामी एकै ठाउँमा गुजिल्टिएर सुत्यौं।
२) मान्छेको पहिलो जिम्मेवारी उसको परिवार हुन्छ। यस्तो विपत घडीमा आफ्नो परिवारलाई रुवाबासी र त्रासबीच छाडेर समाचारको पछाडि दौडँदा परिवारको धारणा कस्तो रह्यो?
रोइकराइ गरेर बसेर मात्र केही हुन्नथ्यो। रिपोर्टिङमा निस्कनुपर्ने मेरो बाध्यता थियो। भोलिपल्ट बिहान चौतारा जान खोजेँ। बुबा र बहिनीहरूले नराम्रो माने। मैले सम्झाएँ। जीवनभरको कमाइले दुई छोराका लागि भनेर बनाएको घर ढल्दा बुबाको खुसी हराएको थियो। निस्कने बेलामा मैले भनेँ, ‘बा, नआत्तिनुस् मुलाको डोब मुलाले नै खन्छ।’ बल्ल म रिपोर्टिङमा निस्कन पाएँ। चौतारा पुग्दा म मरेको चर्चा रहेछ। आफ्नै मृत्युको खबर सुनेँ मैले। मान्छेले अच्चम्म मानेर मलाई हेरे, म वाल्ल परेँ।
चौताराको टुँडिखेल पुग्दा सम्हालिन सकिएन। बजारबासी त्यहीँ आश्रित थिए। एकातिर शव असरल्ल थिए, छेवैमा चौतारा अस्पताल सञ्चालित थियो। त्यहीँ घाइतेको उपचार भइरहेको थियो। साताबीचमै दुई तिनटा टहरा फेर्दै पुरानो जस्ता जुटाएर अस्थायी टहरो बनाएँ। त्यसपछि बल्ल ढुक्कले रिपोर्टिङमा निस्कन सकेँ।
३) भुइँचालोपछिका केही दिनसम्मै सार्वजनिक सवारी आवागमन सहज थिएन। यस्तो बेला कसरी रिपोर्टिङमा जानुभयो?
म एकसरो लुगामा भागेको थिएँ। त्यो लुगा मैले एक महिनासम्म लगाएँ। क्यामरा थिएन। भाग्दा कसो मोबाइल भने साथैमा थियो। त्यसले तस्बिरहरू लिएँ। सञ्चारका सबैखाले माध्यम ठप्प थिए। टावर ढलेका थिए। फोनले काम गर्दैनथ्यो। समाचार लेख्न ल्यापटप, कम्प्युटर केही थिएन। राजमार्ग र सडक पहिरोले अवरुद्ध थिए। विद्युत आपूर्ति बन्द थियो। चट्टानको चेपुवामा परेको तातोपानी नाका केही दिनसम्म बेखबरजस्तै थियो। यातायात र सञ्चारबाट हिमाली गाउँहरू बेखबर थिए।
धुलिखेल र नगरकोटका टावरले काम गर्दा कहिलेकाहीँ मोबाइलले काम गथ्र्यो। सुरुका केही दिन मोबाइल रिपोर्टिङ मात्र गर्न सकेँ। छोटा घटना विवरण र तथ्यांक मात्र टिपाउन सकेँ। पछि हिडेँरै गाउँ–गाउँ डुल्न थालेँ। मोबाइल सुध्रिँदै थियो। कापीको पानामा समाचार लेखेर फोनमा टिपाउन थालेँ। मोबाइल डाटाबाट फोटो पठाउन थालेँ। सुरुका दिन हिँड्नुपर्ने बाध्यताले तातोपानी, मेलम्ची, जलवीर लगायत बजार क्षेत्र र आसपास गाउँ मात्र पुग्न सकेँ। पछि गाउँहरू विस्तारै सम्पर्कमा आउन थाले। मानवीय र भौतिक क्षति दिनप्रतिदिन भयावह हुँदै गयो।
पाँचौं दिन सदरमुकामको खुला चौरबाट रेडियो सिन्धु सञ्चालनमा आएको थियो। त्यहाँ जेनरेटरको व्यवस्था थियो। समाचार संकलनपछि रिपोर्टिङको थलो मैलै त्यसैलाई बनाएँ। मोबाइल चार्ज गर्न सजिलो भयो। रेडियोले प्रत्यक्ष प्रसारण मात्र गर्ने भएकाले त्यसको ल्यापटप मैले चलाउन थालेँ। मोबाइलबाट डाटा अन गर्दै वाइफाई हटस्पोट ल्यापटपमा कनेक्ट गरेर समाचार र फोटो पठाउँथेँ। साथीभाइसँग ल्यापटप मागेर पनि लामो समय काम चलाएँ। जहाँ पुगे पनि समाचार पठाउन चौताराको त्यही रेडियोमा आउनुपथ्र्यो। अन्यत्र विद्युत सुविधा थिएन। मेरा सबै सञ्चार उपकरण कोठाभित्रै किचिएर ध्वस्त थिए।
४) चारैतिर समाचारै समाचार भएको अवस्थामा के लेख्ने भनेर प्राथमिकता कसरी दिनुभयो?
जहाँ हेर्यो, त्यहाँ सत्यानास मात्र थियो। सग्लो बस्ती र गाउँ भेट्नै मुश्किल। सायद निमेषमै ढलेको थियो सिन्धुपाल्चोक। साताकै बीचमा मृतकको संख्या तीन हजार पुगिसकेको थियो। डाडाँकाँडा धुवाउँथे मात्र। सुनकोसी, भोटेकोसी, इन्द्रावती लगायत नदी र खोला त्यसैगरी लामो दिनसम्म धुवाए। एकसरो लुगामा पीडित खुला आकाशमुनि थिए। महिला, केटाकेटी, वृद्धवृद्धा क्रन्दनमा थिए। सबै त्रासमा थिए, भोका र नांगा थिए।
म आफैं मानसिक आघातमा थिएँ। के लेख्ने, कसरी लेख्ने भन्ने अन्योलमा परेँ। रिपोर्टिङ गर्नैपर्ने बाध्यताले सम्हालिएँ। काठमाडौंबाट आउने सहकर्मी ढाडस दिन्थे। त्यसले केही सहज बनायो। सुरुमा मानवीय, भौतिक क्षति, विनाश, क्रन्दनका समाचार लेखियो। त्यसपछि राहत, उद्धारमा लेखन केन्द्रित भयो। त्रास कम गर्ने, अभिप्रेरणा दिने, मानसिक आघात कम गराउने, जीवनप्रति आस बढाउने खालका समाचार पनि लेखेँ। केलाई प्राथमिकता दिने भनेर सोच्ने अवस्थामा म थिइन्। दिन बित्दै जाँदा आवश्यकता र अवस्थाअनुकूलका रिपोर्टिङ स्वतः हुँदै गयो।
५) स्थानीयबासी शोकमा डुबेका बेला उनीहरूका घाउ कोट्ट्याएर सूचना लिन गाह्रो भयो कि भएन? कसरी गर्नुभयो? विपद व्यवस्थापनमा खटिएका सेना, प्रहरी तथा सरकारी निकायबाट सूचना लिन गाह्रो भयो कि भएन?
धेरै गाह्रो भयो। कसरी कुरा गर्ने, कसरी सूचना माग्ने भन्ने मेलोमेसो नै पाइएन। सबै भोका थिए, नांगा थिए। गाँसबास केही थिएन। त्रासमा थिए। भूकम्पमा आफन्त गुमाएका पीडित शोकमा थिए। प्रश्न गर्दा उनीहरूलाई थप पीडा हुन्थ्यो। कस्ता प्रश्न कसरी गर्ने भन्ने अन्योल भयो। प्रश्न नसोधी धरै थिएन, सूचना आउँदैनथ्यो। सकेसम्म उनीहरूलाई थप पीडा नहुने गरी प्रश्न गरेँ। कतिपय ठाउँमा आफैंलाई पीडितका रूपमा उभ्याएँ। यसो गर्दा पीडित खुलेरै कुरा गर्थे। ‘तपाईंहरूको दुःख मलाई बाँड्नु हुन्न’ भनेर सामान्य बोलीचालीको भाषामा प्रश्न गर्थें। ‘हामी जस्ता पीडितलाई सरकारले हेर्ने बेला यही हो। तपाईंहरूको समस्या समाचारमार्फत सरकारसम्म पुर्याउने प्रयास गर्छु’ भनेर पीडितसँग कुराकानी गर्थें। कुराकानीका क्रममा धेरैपटक पीडित रोएका छन्। त्यतिबेला आफैं भावुक हुन्थेँ। वार्ता भंग हुन्थ्यो। वास्तवमा पीडितसँग कुरा गर्नु ज्यादै कठिन काम रहेछ भनेर मैले पहिलोपटक अनुभव गरेँ।
सेना, प्रहरी, प्रशानिक निकायसँग सूचना लिन गाह्रो भएन। उनीहरू पनि कतिपय सन्दर्भमा हामीसँग सूचना लिन्थे, समन्वय गर्थे। त्यसैले सजिलै सूचना पाइन्थ्यो। सञ्चारकर्मीलाई सजिलो होस् भनेर जिल्ला दैवी प्रकोप उद्धार समितिले सूचना अधिकारीकै व्यवस्था गरेको थियो। स्थानीय निकाय जिविसको ठूलो संयन्त्र गाउँ तहसम्म विस्तारित छ। गाविस सचिव, सामाजिक परिचालक र वडा तहदेखि नै गठित नागरिक मञ्चसहितको सञ्जाल जिविसको थियो। त्यसैले, जिविसमार्फत धेरै सूचना पाइन्थ्यो। प्रहरी र प्रशासन पनि जिविसकै सूचनामा धेरै आश्रित थिए।
६) परिवारलाई हेर्दा काम छुट्ने वा काममा जाँदा परिवारको व्यवस्थापनमा समस्या आउने भयो कि भएन? परिवार तर्फबाट आउने गुनासा र अफिसबाट आउने दबाब कस्तो रह्यो? यसलाई कसरी व्यवस्थापन गर्नुभयो?
त्यस्तो भएन। जहाँ रिपोटिङ गर्न जाँदा पनि समाचार पठाउन चौतारा आउनै पथ्र्यो। यहाँ खान, बस्न केही सुविधा थिएन। खाना र सुताइका लागि घर जानै पथ्र्यो। भ्याए दिनहुँ, नभ्याउँदा दुई–तीन दिनबीचमा घर पुगेकै हुन्थेँ। बरु अघिपछि लामो समयको अन्तरालमा मात्र घर जाने गरेको थिएँ। त्यसैले परिवारले म टाढा भएको अनुभव गर्नै पाएन।
मिडियाले केही गर्ने यस्तै बेला हो। अहिले मिडियालाई समाजकै अंग मान्न थालिएको छ। उसँग सामाजिक उत्तरदायित्व हुन्छन्। त्यसैले मिडियाले आफ्ना रिपोर्टरले राम्रा रिपोर्टिङ ल्याउन सकोस् भन्ने सोचाइ राख्नु स्वाभाविकै थियो। त्यसैले केही दबाब महसुस त भइहाल्थ्यो। कतिपय एजेन्डा मिडियाले तय गथ्र्यो। यस्तो बेला समाचारका विषयवस्तु सुझाउने र अह्राउने काम हुन्थ्यो।
मेरो अवस्था मिडियाले बुझेको थियो। त्यसैले खासै दबाब दिने काम भएन। मिडियाले मलाई सुरक्षित रहँदै रिपोर्टिङ गर्नु भनेर ढाडस दिन्थ्यो। जिल्ला ब्युरो प्रमुख छत्र कार्की, तत्कालीन सम्पादक प्रतीक प्रधान, समाचार प्रमुख विश्वमणि पोखरेल, सुबोध गौतम, यादव थपलिया, सम्पादकीय टिमका सदस्य कुनै न कुनै रूपमा मसँग दिनहुँ सम्पर्कमा हुन्थे। ‘यस्तो अवस्थामा पनि तिमीले राम्रो गर्दै छौ है’ भनेर उनीहरू मलाई हौस्याउँथे।
७) धेरैले पढ्ने ठूलो घटनाको समाचार लेख्नु पत्रकारको निम्ति उपलब्धि हो, तर त्यो घटनाको पीडित आफैं भएको अवस्थामा समाचार लेख्दाको अनुभूति कस्तो हुँदो रहेछ?
२०७१ साउन १७ गते जुरे पहिरो गयो। ठूलो क्षति पु¥यायो। म त्यतिबेला पीडित थिइनँ। प्राथमिकताका आधारमा रिपोर्टिङ गर्थेँ। गज्जब रिपोर्टिङ गरेँ जस्तो लाग्छ त्यतिबेला। मेरो मिडियाका सिनियर, सहकर्मी र अरूहरू पनि त्यसै भन्थे। यो पटक म आफैं पीडित थिएँ। मृत्युको मुखमै पुगेर फर्केको अनुभव थियो। भनौं न, म ट्रमा (मानसिक आघात) मा थिएँ। अघि पनि भनेँ नि नगर्नु काम गरिसकेपछि रिपोर्टिङ गर्नु मेरो बाध्यता नै थियो। हरेक पीडित मैजस्तो लाग्थ्यो। म पनि सबै पीडित जस्तै हुँ भन्ने लाग्थ्यो। त्यसैले उनीहरूको पीडा र वास्तविक अवस्थासम्म छिर्न सकेँ। अहिले पनि म भूकम्पपछि आफूले लेखेका समाचार पढ्छु। मलाई अनुभव भइरहेको कुरा के भने मेरा अधिकांश रिपोर्टिङ भावुक रहेछन्। पढ्दा आफैं रुन पुग्छु कहिलेकाहीँ। एउटा विपत्ति झेलेको म सायद भावनामा बहेको थिएँ। यस्तो बेला समाचारले सकेसम्म बढी ‘इनकरेज’ गर्नुपर्छ भन्ने लाग्छ। यो हिसाबले समाचार लेखनमा मबाट केही कमजोरी भयो कि भन्ने अनुभूति हुन्छ।
८) यति ठूलो राष्ट्रिय विपत पर्दा तपाईंले व्यक्तिगत रूपमा आफ्नो संस्थाबाट सहयोग पाउनुभयो कि भएन?
संस्थाले आफ्नो तर्फबाट हैसियतअनुसार ग¥यो भन्ने लाग्छ। मसहित भूकम्प प्रभावित सबै सहकर्मीलाई केही आर्थिक सहायता गरेको थियो संस्थाले। मेरो अवस्था सुनेपछि हाम्रो संस्थाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली निकै भावुक हुनु भएछ। सुरुदेखि नै उहाँले मलाई भेट्न खबर पठाउनुभएको थियो। मेरो समय मिलेको थिएन। एक दिन काठमाडौं पुगेका बेला भेटेको थिएँ। ‘सुरुदेखि नै मैले तपाईंलाई फोन गरेँ, तर लागेन’ भन्नुभयो। नआत्ति रिपोर्टिङ गर्न ढाडस दिनुभयो, कामको मूल्यांकन हुने बचन दिनुभयो। मेरा कम्प्युटर, ल्यापटपजस्ता सञ्चार उपकरण ध्वस्त भएको र मैले यसरी रिपोर्टिङ गरिरहेको छु भन्ने सुनेपछि उहाँले तत्कालै प्रशासनलाई भनेर एउटा ल्यापटपको व्यवस्था गरिदिनुभयो। भूकम्पलगत्तै प्रभावित जिल्लाका रिपोर्टरलाई तत्कालका लागि चल्न पेश्की दिइएको रहेछ। बैंक नै ध्वस्त भएकाले मैले यस विषयमा निकैपछि मात्र चाल पाएँ।
९) अहिले तपाईंको परिवार कहाँ र कसरी बस्दैछ?
मेरो परिवार गाउँमै छ। जस्ताको अस्थायी टहरोमा आश्रित छ। अरू जसरी बसिरहेका छन् त्यसैगरी बसेको छ परिवार। घाम, पानी, गर्मी, हिउँद टहरोमा गुजारेपछि अत्तालिएका उनीहरू घरको माग गर्न थालेका छन्। दमकी दीर्घरोगी आमालाई टहरोमा जोगाउन हम्मे परेको छ।
१०) तपाईंको जिल्ला वा क्षेत्रका अन्य भूकम्प पीडितहरूको अवस्था कस्तो छ?
भूकम्प पीडितको जीवनमा कुनै परिवर्तन आएको छैन। अभाव, समस्यामा बाँचेका छन् उनीहरू। सुरु–सुरुमा पाएको राहत खाइसके। सधैं राहत बाँडिरहने कुरा पनि त्यति सान्दर्भिक छैन। पीडितको पक्षमा ठोस काम एउटै हुन सकेको छैन। त्यो सरकारले पनि गरेको छैन, संघसंस्थाले समेत गरेका छैनन्।
झन्डै ३ लाख जनसंख्या जस्ता र त्रिपालको टहरोमुनि छन्। त्यहाँभित्रको दुःख स्वयम् मै पनि भोगिरहेको छु। अहिले हावाहुरीको सिजन छ, टहरो उडाउँला झैं गर्छ। धेरै टहरो त उडाइसक्यो। पीडितले बर्खा भलबाढी सोहर्दै बिताए। ठन्डीमा टहरोभित्र शीत चुहिन्थ्यो। याम फेरिए पनि पीडितको दैनिकी फेरिएको छैन।
११) सरकारको पुनर्निर्माण वा राहत कार्यक्रम कस्तो रह्यो? जनताले सहज रूपमा राहत पाए कि पाएनन्?
पीडितलाई परिचयपत्र थमाउने, मृतकपरिवारलाई किरिया खर्च र क्षतिपूर्ति दिनेबाहेक केही भएको छैन। यत्ति काम त स–साना प्रकोपमा पनि हुँदै आएको थियो। समयमै नदिँदा अस्थायी आवासका लागि १५ हजार र न्यानो राहतको १० हजार अनुदानबाट पनि पीडितले खास लाभ पाउन सकेनन्।
जिल्लामा पीडित परिचयपत्र पाउनेको संख्या ८५ हजार छ। तीमध्ये ८० हजारले मात्र दुवैखाले अनुदान पाएका छन्। परिचयपत्र पाउने ५ हजारले यी सुविधा पनि पाएका छैनन्। १५ हजार अघिल्लो बर्खामै पाउनुपथ्र्यो, अर्को बर्खा लाग्न खोज्दा पनि पाएका छैनन्। न्यानो राहत पुस–माघमा पाउनुपर्ने थियो, तर उखरमाउलो गर्मी सुरु भइसक्दा पनि त्योबाट वञ्चित छन्। परिचयपत्र र अनुदान नपाएको भन्दै स्थानीय प्रशासनमा निवेदनको चाङ लागेको छ। त्यस्ता निवेदन पाँच हजारभन्दा बढी छन्। ती उपर कुनै निर्णय भएको छैन। खास पीडित अझै सरकारले दिने राहत, सुविधाबाट वञ्चित छन्।
सिन्धुपाल्चोक भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त जिल्ला हो। ३ हजार ५ सय ७० को ज्यान गयो। ६३ हजारभन्दा बढी घरसंरचना पूर्ण ध्वस्त भए। भूकम्पको एक वर्ष पनि बित्न लाग्यो। तर, यहाँ पुनर्निर्माण नै सुरु हुन सकेको छैन। सरकारबाट उपेक्षितजस्तै छ सिन्धुपाल्चोक। यति ठूलो क्षति पुगेको जिल्लाबाट पुनर्निर्माण थालेर सरकारले नवनिर्माणको सन्देश दिन सक्नुपथ्र्यो, त्यसो हुन सकेन। यहाँका पीडित हेरेका हे¥यै छन्। प्रभावित जिल्लामा पुनर्निर्माण प्राधिकरणले क्षेत्रीय स्तरको कार्यालय राख्दा सिन्धुपाल्चोक परेन। अहिलेसम्म प्राधिकरणको कुनै उपस्थिति यहाँ छैन। वैशाख १२ गतेबाट पुनर्निर्माण अभियान सञ्चालन हुने तयारी छ भनिन्छ। अनुदान हात पारेर जिल्लावासी कहिलेदेखि पुनर्निर्माणमा जुट्ने भन्ने टुंगो नै लागेको छैन