कक्षाको पहिलो वेन्चमा वस्नु र घाँटीमा डोरी झुन्डाएर रुखमा झुण्डिनेमध्ये कुनै एक विकल्प रोज्ने अवसर दिइयो भने मलाई दोश्रो विकल्प सधैभरि राम्रो लाग्यो। तर कहिल्यै पनि जीवनले विकल्प रोज्ने अवसर दिएन। संविधानको धारामै उल्लेख गरे जसरी म कहिल्यै पनि पहिलो वेन्चमा बसिन।
कक्षामा औसत विद्यार्थी भन्दा पनि औसत मेरो पढाइको हैसियतले मेरो स्कुले जीवनमा जहिल्यै क्यालेन्डरका राता अक्षरहरु प्रिय लागे। क्यालेन्डरका आधाजति काला अक्षर त आफैले रातो लगाउथे तर आफैले रातो लगाएको दिन भने म निर्धक्क घरमा भन्दा पनि खेतमा केटाहरुसँग राजेश हमालको एक्सन र डाइलग प्रयोगात्मक रुपमा पढिरहेको हुन्थे । सुकेका अजम्मरीका काठका वन्दुक वनाएर कहिलेकाही सिनेमाको लाष्ट फाइटले पनि जीवन्तता पाउथ्यो। म जहिल्यै हिरो हुन्थे ।
स्कुले जीवन भोग्ने वेलासम्म बोझिलो अनि भोगिसकेपछि मिठो सवैलाई हुदोरहेछ। धेरै लेख्ने मान्छेहरु स्कुले जीवन मीठो वनाएर लेख्छन्। मलाई पनि त्यस्तै लाग्छ। स्कुले जीवन र यो रक्सी उस्तै हुँदोरहेछ । खाउन्जेल नमिठो अनि खाइसकेपछि मजा आउने।
स्कुल देखि एलर्जी भएर एकदिन आफैले क्यालेन्डरको अक्षर राखो साइनपेनले रङ्गाएर। सुरु भयो फेरी सिने यात्रा। साँझ स्कुलबाटमा फर्किने विद्यार्थीका पाइला पछ्याउने क्रममा भेटियो विन्दे। सालेले मन अमिलो वनाउने समाचार सुनायो,'ओए वद्दा आज टेरो कोथामा नयाँ केति आइकी ठी , लास्तै च्याक ठी यार' लमचुस उपनामधारीको कुराले मनमा एकाएक वादल मडारियो।
'गफ लाउँछस् साले' हात्तीले तिन दिन खाएको जति वल लगाएर लमचुसको पुठ्ठामा वजायो। लमचुस हुरिले हुत्ताएको पोल जसरी हुत्तियो। स्कुलमा प्राय वाहुनले राखेका नामहरु 'फ्लप' हुन्थे । केटाहरु शरीरको छाँटका आधारमा नाम निर्धारण गर्थे । लमचुसको खास नाम थियो विनोद मगर । रोल्पाबाट मिठाई पसल गर्न दाङ झरेको थिए उसका बा । घरमै मिठाइ पसल भएपछि उसको मुख खाली भएको कहिल्यै देखिदैन थियो। तर पनि शरीरमा कहिल्यै चढेन उसको मिठाई। हात्ती भन्थ्यो,‘ सालेको मिठाई मुखबाट सिधै चाकमा जान्छ क्या हो। '
मिठाइ खाएपनि ज्यान भने लमचुस जस्तो थियो। केटाहरु भन्थे 'लमचुस ठूलो हावा लागेका वेला हावाले उडाउछ भनेर गोजामा ढुँगा हालेर हिड्छ '। तर मैले भने त्यस्तो गजवको दृश्य देख्ने मौका कहिल्यै पाएन।
अव हात्तीको कुरा तर्फ लागौ। ऊ कक्षामा सवैभन्दा सिनिएर थियो , शरिरका कारण। उसका वा वरफ वेच्थे। घरमा साँझ र विहान भात भन्दा केही पनि पाक्दैनथ्यो । नास्ता खाएको दिन उसका लागि पर्व जस्तै हुन्थ्यो तर केटो सवैभन्दा खाइलाग्दो थियो । केटाहरु उसलाई साइकलमा हावा हाल्ने पम्प चाकबाट भरेर मोटाएको भन्थे , मैले केयौ पटक उसलाई साइकल दोकानमा लगे तर उसले त्यस्तो हर्कत गरेको थाहै पाइन।
यी दुई नामको सप्रसंग व्याख्या पश्चात अन्यको नाम मात्र पस्कन चाहन्छु: छेरुवा,अँगार,काठो, सिँगाने, भिखारी विभिन्न नामहरु थिए । मेरो नाम पनि पछिल्ला पाँच नामभित्रै पर्थ्यो। पुरानो नाम यसरी वेपत्ता हुन्थ्यो कि , वरु पहाडमा ठोकिएर आगो लागेको विमानमा रहेका मान्छे सकुशल भेटिएलान् तर खास नाम भने कहिल्यै पनि भेटिदैन थियो । नयाँ आउनेहरुले कसको खास नाम के हो कसैलाई थाहा हुदैनथ्यो । खास नाम थाहा पाउन त परिक्षाको नतिजा नै कुर्नुपथ्र्यो ।
लमचुसले नयाँ केटीको कुरा सुनाएपछि भर्खरै विर्य उत्पादन हुन थालेको समय । मन तुलवुल पो भयो त। कता कता कसैले काउकुति लगाए जस्तो हुन थाल्यो। तर हात्तीका सामुन्ने कसले मनको कुरा खोल्न पाउने। 'हेर केटा म राजेश हमाल उ करिश्मा मानन्धर वल्ल फिलिम वन्ने भो 'पिरती' '
' त भुडेलाई यत्रैसिति पनि पत्याउदिन ' मनमनै वोले । कतै थाहा पायो भने कुट्ला भनेर मनभित्रको पनि भित्र रहेको मनमा वोले।
क्यालेन्डर रङ्गाएकोमा पश्चाताप लागेर आयो । के था पहिलो नजरमा माया वस्छ भन्छन् मसँग ठोक्किन लेखेको नजर अन्त कतै पो ठोेक्कियो की?
अर्को दिन वहुद टेन्सनले कुरेपछि विहान आँगनमा टुप्लुक्क रुझेको विरालो जसरी आयो । जाडो महिना भए पनि विहान नुहाए। कपालमा तेल पानी फिठेर टिलिक्क टल्कने गरि लगाए। आमाको टोनी क्रिम थियो ,ऐनाको सहारामा अनुहारको कालो भगाउनलाई मिचिमिच लगाए । फाइनल्ली राजेश हमालको झलक देखियो ऐनामा । वस् कपालका कारण मात्र करिश्मा नझुक्किने भई।
कक्षामा पहिलो वेन्चमा वस्नका लागि छिटै विद्यालय गए। कोही पनि आएका रहेनछन्। पहिलो वेन्चमा झोला राखेर ठाउँ निशुल्क 'वुक' गरे । कक्षाकोठा वाहिर पनि गइन्। साले हात्ती पनि आज पहिलो पटक छिटो आएर पहिलो वेन्च नै वुक गर्यो। मेरो कन्सीरि तातेर आयो । मन थामे , प्रेमको जो कुरा थियो । किताव निकालेर पढ्न लागेको जीवन्त अभिनय गरे। पर्दा देखिने करिश्मा भन्दा पनि सुन्दर करिश्मा आइ कक्षामा । उसको सुन्दरताले मलाई 'सु' लाग्यो। दवाएर राखे । फेर्न गइन, थोरै तुरुक्क चुहियो। किताव जो पढ्नु थियो।
स्कुलमा करिश्मालाई देखेपछि लाग्यो साला भगवान पनि कहिलेकाही फुर्सदमा हुँदा रहेछन्। भगवान फुर्सदमा परेका वेला त होला नि छुदा पनि दाग लाग्ने मान्छे वनाएको। भगवानसँग हल्का रिस उठेर आयो । मलाई हतार हतारमा किन वनाए भनेर । मन थामे । आफु जे जस्तो भए पनि करिश्मा जस्तोसँग प्रेम जो वसेको थियो , एकोहोरो। हात्तीले पिसाव फेर्न मध्यान्तरमा (तेश्रो घण्टि) करिश्माले आँखा जुधाएको आँकलन गरेर, पहिलो विज्ञापन वजारमा फालिहाल्यो ' करिश्माले मलाई लाइन मारि '। मेरो आउन थालेको पिसाव पनि रोकियो। पछि पाइन्ट भित्र चोएर पुरै भिजेको।
अन्ततः क्यालेन्डरका काला अक्षर मेट्ने क्रमको अन्त्य भयो । स्कुल नजाने त परैको कुरा राता अक्षर पनि कालो वनाउन मन लाग्ने। पढाईको हाम्रो ग्रुप थियो। करिश्मा पनि हाम्रो मिनी ग्रुप कि सदस्य थिइ। म्याथ त झन् हाम्रो ग्रुपमा राख्न पनि नसुहाउने खालको थियो । गू्रपमा नसुहाय के भो त ? मेरो जीवनमा त ऊ भन्दा सुन्दर को नै थियो र ? साला सास पनि उसकै नाम टाँसिएर पो भित्र जान्थ्यो त।
अचानक पहिलो वेन्चमा वस्न र पढाइमा ध्यान दिन थालेपछी हात्ती र मेरा वारेमा केही वुँदा हल्ला जारी भयो । करिश्मालाई मन पराउछन् भनेर मैले ठाडै अस्विकार गरे , हात्तीले केटाहरुलाई सुन्तला चकलेटको पाटी समेत दिएर भन्यो 'अव देखि करिश्मा भाउजुलाई सधै नमस्कार गर्ने सवैले' हात्तीको जिरा जत्रो प्रस्ताव वहुमतले पारित भयो । अव चर्चामा रहे केवल हात्ती र करिश्मा । केटाको सर्कलमा सवैले हात्तीलाई हेरेर थुक निल्न थाले। हात्तीले म्याथको हिसाव त झन् सरले नपढाउदै गर्न थाल्यो । एकदिन सरले गाइड सहित रङ्गेहात पक्राउ गरेपछि लाजले रातो भयो। मेरो भने खुसीको सीमा रहेन।
भाग्यले उल्टो गति समातेपछि 'कुटनीतिक योजना' नवनाएर कामै थिएन। 'ज्यान सुकेर लौरि भयो पिरतीको खेलमा ' भन्ने गीत मेरो जीवनसँग पुरापुर मिल्ने पो भएको थियो त। अरुले करिश्मालाई आँखा लगाएको भए मसँग अनेक हत्कण्डा थियो तर हात्तीसँग म विचरो कमिलोले कसरी सक्नु। सोच्दा समेत मुत तुरुक्क चुहिएर आउँथ्यो। मेरो मिल्ने साथी वनेको हात्ती अन्ततः पिरतिको वलियो शत्रु पो वन्यो त। माओवादीहरुले अपहरण गरे पनि मज्जा हुने थियो भन्ने कल्पना मनमा आइरहन्थ्यो । सपना सपनामै सेलाउथ्यो , कुनै पत्रिका पनि हात्तीको अपहरणको समाचार वोकेर प्रकाशन भएनन्।
***
हात्तीसँग मेरो अघोषित र एकल शत्रुता सुरु भइसकेको थियो। हरेक दिन हात्तीलाई कुरेर विद्यालय जाने वानी परेको थियो मलाई। तर मैले विस्तारै त्यो वानी पनि छाडे। विद्यालय एक्लै जान थाले। सधै मलाई कुराउने हात्तीले मलाई पो कुरेर वसेको रहेछ ' हैन वड्डा त किन ठूलो वन्या छस् ' हात्तीले काँधमा मायाले धक्यायो । मेरो कन्सिरी तातेर आएको थियो ' साला, मनपरेको मान्छेलाई भाउजु पनि भन्न लगाउँछ अनि मसँग किन सँगत गर्दैनस् पो भन्छ त ' रुद्रघण्टि वलियो वनाए , कुरो वाहिर निस्किएन।
हात्तीले पहिलो पटक विनम्र भावमा भन्यो ' एउटा काम गर्देन वड्डा तैले ' हरेक काम वलजफ्ति गराउने हात्तीले यसपटक भने विनम्रता पोख्यो। ' भन न तैले भन्या कहिले मैले नाइ भनेको छु र' मैले ढाडस दिए।
उसको आँखा र अनुहारबाट एकैपटक लोडसेडिङ हरायो ' एउटा लभलेटर लेख्देन यार , दाम्मी करिश्माको मन पुरै पग्लेर पानी वन्ने गरि'
'नाइ सक्दैन वड्डा मैले लाइफ मै लेख्या छैन ' मैले नाइ नास्ती गरे।
'लेख्दे न तलाई कति मिठो कविता लेख्न आउँछ , मलाई त माया खोल्न नपाएर सहिद वनिएला जस्तो पो भयो त '
सालेले निकै कर गर्यो , मैले पनि कुटनीतिक योजनामा सफल हुने छाँट देखे।
मैले ससर्त स्वीकारे ' रसरङ्ग किनेर ल्याइदे है वजारबाट '
रसरङ्गमा विभिन्न लभलेटर जो छापिएका हुन्थे।
वजारबाट रसरङ्ग वोकेर हात्ती आउना साथ मैले सुरु गरे चिठी लेख्न । मनभरि झरि पारेर आफैले लेख्न थालेको जसरी लेखे।
मनकी रानी करिश्मा
मिठो चुम्वन ।
संसारमा सवैभन्दा बढी माया गर्ने मान्छेको हैसियतले तिमीलाई यो पत्र लेख्दैछु। यो चिठी होइन मेरो मन हो । मनै राखेर पठाउन नमिल्ने भएकाले चिठीमा मनका सवै कुरा घोप्टाएर लेखेको छु। भन्नेहरु जे भनुन् भगवानले तिमीलाई मेरै लागि यो संसारमा पठाएका हुन् तिमी मेरो हुन सकिनौ भने यो संसारमा आउनुको मेरो अर्थ नै सकिनेछ। म पूर्णत मर्नेछु। जसरी किनाराले नदिलाई , भमराले फुललाई , चन्द्रमाले आकाशलाई माया गरेका हुन्छन् मैले त्यो भन्दा पनि वढि माया गर्नेछु। अझ तिमीलाई मेरो विश्वास लाग्दैन भने मसँग चिठी पाउनासाथ विहे गर्न भन्यौ भने पनि म राजि हुनेछु। संसारको कुनै पनि शक्तिले हाम्रो मायामा आँखा लगाउन सक्नेछैन। यो चिठी पाउने वित्तिकै मलाई तिम्रा कोमल हातले लेखेको चिठी पठाउने छ्यौ भन्ने आशामा सास फेरिहरनेछु।
तिम्रो प्रेममा वहुलाउन ठिक्क परेको मान्छे
वसन्त आचार्य।
प्रेम पत्र लेखिसकेपछि पनि मेरो रोजगारी सकिएन। प्रेमपत्र कसरी पुर्याउने भनेर मैलाई नै फेरि जुक्ति लगाउन पठायो अघोषित जारले। मनमा रिसको आँधिवेहरी चलिरहेको थियो तर पनि थामे। 'पख आज इन्टरवलमा झोला भित्र कितावमा राख्दिन्छु '
हात्ती ढुक्क भयो । कतिवेला मध्यान्तर होला भनेर हात्तीले करिव मिनेट मिनेटमा घडी हेर्थ्यो। अन्ततः एउटा पागल प्रेमीले कुरेको समय आइहाल्यो। तर करिश्मा वाहिर गइन। हात्तीको अनुहारमा फेरि वादल मडारियो।
कक्षाको समयमा समेत कक्षामा वस्न मन नगर्ने हात्तीको कक्षाप्रेम निकै दया लाग्दो थियो। अन्ततः मलाई समेत दिक्दार लागेर आयो झोकैमा भनिदिए 'यत्रै सिती वस्दैन ह्या भोक लागि सक्यो '
हात्तीले अनुनय विनय गर्यो दुईवटा समोसा ल्याएर दियो मलाई।
अन्तिम प्रहर तिर करिश्मा वाहिर गइ। वेन्च अलिक चिसो थियो। 'मिन्स भएकी रहिछ वड्डा तेरी भाउजु'। हात्तीले मलाइ भन्यो।
मलाई पनि त हात्तीको सातो खानु थियो । हात्तीको कक्षा कोठामा वेइज्जत भयो भने न करिश्माको आँखा मतिर लाग्ने थियो ।
पाँचौ पिरियडको स्वास्थ्य, जनसंख्या तथा वातावरण भन्ने कितावको विच भागमा राखिदिए चिठी।
हात्ती वादर जस्तै उफ्रियो, मन मनै म पनि उफ्रिए।
पाँचौ घण्टीका नरदेव सर कक्षामा आए। उनले कहिल्यै पनि किताव वोक्दैनथे। विद्यार्थीका कितावबाट काम चलाउँथे। अचेल म पनि त्यस्तै गर्छु।
करिश्मा पहिलो वेन्चमा वस्ने र सधै किताव ल्याएकी हुन्थी। उनले उसैको किताव मागे र पढाउन थाले । प्रजनन स्वास्थ्यको पाठ भएकाले केटाहरु निकै उत्साहित थिए भने केटीहरुले डेस्कमा टाउको लुकाउन सुरु गरिसकेका थिए। सरले पढाउदै गर्दा चिठी फेला पारे। म मनमनै सगरमाथा छुनेगरि खुसी भए ,हात्तीको दुर्दशा सुरु हुने जो थियो । हात्तीको अनुहार पनि पानी पर्नलाई ठीक्क थियो । ' पख साले अव भेट्छस् तैले वाउको विहे ' मनमनै म कुत्कुतिए ।
कक्षा सुरु गर्लान भनेका सर त कितावका पाना पल्टाइ पल्टाइ हाँस्न थाले। हात्ती र म वाहेक कक्षाका सवैले अचम्म मान्दै थिए। सरले पहिलो वेन्चतिर नै हेरे। हात्तीले पाइन्टमा हल्का मुत चुहाएको जस्तो अनुहार वनायो। सरले मलाई पो वोलाय । 'आमा हो , अक्षर चिने क्यार वुढाले'
म डराइ डराइ अगाडि गए । सरले ' ला पढ्' भनेर पढ्न दिए।
म हल्का डर हल्का खुसी सहित चिठी पढ्न थाले।
चुम्वन पनि नछाडेर चिठी पढिसक्दा करिश्माको अनुहार पनि जलेको तरकारी जस्तो हुँदै गएको थियो। हात्तीले त झन् 'पाइन्ट गिला' नै वनाएको थियो क्यार।
साला चिठीको लास्टमा आएर पो म माथि चट्याङ्ग वज्रियो। अन्तिममा चिठीको भावनामा वहकिएर मेरै नाम पो लेखेको रहेछु ।
कक्षामा हाँस्ने मात्रै थिए यो पटक सवैभन्दा पढि हाँसो त हात्तीको पो थियो।
जीवनमा आफैले आफ्नो वलत्कार गर्ने सायद म पहिलो मान्छे थिए हुँला।
त्यस्तो ठाउँमा थिए जहाँ वलत्कार हुने वेला न कराउन सक्थे न त रुन नै।
सरले सिधै ओठमा आक्रमण गर्नुभयो,‘अर्काकी छोरीलाई चुम्वन गर्ने?
ओठ तानेको यति दुख्यो, त्यो भन्दा बढि मन दुख्यो ।
चोठ र कक्षाको इज्जत भन्दा वढि करिश्माको आगो वलेको अनुहार मेरो मनोरोगको पहिलो कारण थियो।
कक्षामा सवैभन्दा बढि पिट्ने सर भनेर चिनीने नरदेव सरले मलाई कति पिटे , खासै याद थिएन। दिमाग र मनमा थियो त केवल करिश्माको अनुहार।
करिव ४० मिनेटसम्म निरन्तर वलत्कार गरेपछि अन्ततः घण्टिले मलाई वचायो।
कक्षामा म एक्लो भए । हात्ती समेत आफ्नो नाममा चिठी लेखेर करिश्मालाई आफुतिर तान्ने खोजेको भनेर रिसायो।
करिश्माको डर थियो मनमा । उसले केही गरिन । हुन त गर्न के वाँकी थियो र ?
जीवनको पानाको पहिलो पटक कोरिएको प्रेमको रेखा पुरा नहुदै पाना नै च्यातियो।
***
केही दिन अघि फेसवुक चलाउदै थिए। फ्रेन्ड रिक्वेस्टको लाइन थियो। जहाँ करिश्माको पनि रहेछ। पुरै प्रोफाइल हेरे । कभर फोटो उसको श्रीमानको थियो अनि श्रीमान थियो त्यही हात्ती।