प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सैनिक कु गरेर संविधान जारी हुन नदिने असफल षडयन्त्र गरेको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति डा. यादवले संविधान जारी हुन नदिन अन्तिमसम्म प्रयास गरेको तर आफ्नो अडानका कारण असफल भएको बताए।
पूर्वराष्ट्रपति डा. यादवले बिहिवार एउटा सार्वजनिक कार्यक्रममार्फत प्रधानमन्त्री ओलीलाई राष्ट्रियताको नाममा मधेशीलाई होच्याएर व्यवहार गरिरहे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका थिए। प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति डा. यादवको नाम उल्लेख नगरी केही मानिसले सकेसम्म कु गरेर संविधान जारी गर्न नदिने प्रयास गरेको तर आफ्नो सुझबुझका कारण असफल भएको बताए।
प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति डा. यादवमाथि नेकपा एमालेलाई प्रधानमन्त्री, राष्ट्रपति लगायतका कुनै पनि पद हासिल गर्न नदिन प्रयास गरेको आरोप लगाउँदै प्रयास असफल भएका कारण डा. यादवले नेपाली काँग्रेसलाई भद्र सहमति अनुसार सरकारमा सहभागी हुनबाट रोकेको बताए।