मोरङको उर्लावारीमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
ना ३ ख ९४९४ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा नाम, थर, वतन नखुलेको एक पुरुषको मृत्यु भएको हो। शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे, मोरङमा लगिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राजकुमार राईले जानकारी दिए।
यस्तै, मोरङको हात्तीमुडा–८ स्थित स्वस्तिक आयल फ्याक्ट्रीअगाडि बिहीबार राति मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चारजना घाइते भएका छन्। एउटै मोटरसाइकलमा चारजना सवार रहेका मोटरसाइकल चालक हात्तीमोडा–९ का १८ वर्षीय मोहमद नवाब, पछाडि सवार सुनसरी दुहवी–९ बस्ने २५ वर्षीय भोला मण्डल, सोही स्थानका २० वर्षीय मोहन खत्वे र २२ वर्षीय गोविन्दकुमार बडइ रहेका छन्।
कोसी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आइरहेको को २३ प ९२५८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ च ८६९१ नम्बरको मारुती भ्यानले राति ९ बजेतिर ठक्कर दिएको थियो।
घाइते चारै जनाको विराटनगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने भ्यान, चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रासस