मोरङको बेलबारीबाट लागुऔषध गाँजा बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले शुक्रबार एक किलो ५०० ग्राम गाँजासहित पक्राउ गरेको छ।
आफ्नै घरमा गाँजा बिक्री गर्ने बेलबारी नगरपालिका–६ का ३८ वर्षीय शुक्र राईलाई गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।
राईले आफ्नै घरमा गाँजा लुकाएर बेच्ने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले दिउँसो २ बजे उनको घर खानतलासी गर्दा उक्त परिमाणको गाँजा लुकाइ राखेको अवस्थामा बरामद भएको प्रहरी निरीक्षक थापाले बताए। राईलाई थप अनुसन्धानपश्चात् लागुऔषध बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस