चुरेभावर राष्ट्रिय एकता पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग हानिकारक भएको भन्दै त्यसलाई पूरा नगर्न सरकारलाई चेतावनी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो पार्टीसँग भएको सहमतिअनुुसार चुरे भावर प्रदेश नबनाइएको भन्दै शुक्रबार १४ बुँदे मागसमेत अघि सारेको छ।
भावरले अघि सारेका उक्त मागहरू मधेसी मोर्चाले अघि सारको मागको खिलापमा आएको छ। ‘चुरेभावर प्रदेश बनाउने भनेर हामीसँग सम्झौता भएको थियो, त्यसलाई पूरा नगरेकोप्रति हाम्रो आक्रोश प्रकट भएको छ,’ अध्यक्ष बद्री न्यौपानेले भने, ‘र मधेसी मोर्चाले अघि सारेका राष्ट्रबिरोधी, राष्ट्रघाती माग पूरा नगराउन पनि सरकारलाई चेतावनीसमेत दिएका छौं ।’
उनका अनुसार उक्त माग पूरा नगरेमा पूर्व–पश्चिम राजमार्ग ठप्प बनाउँदै सिंहदरबारकेन्द्रित आन्दोलन चुरे भावरले गर्नेछ। ‘चुरेभावर प्रदेशको विपक्षमा प्रस्ताव गरिएको तराई–मधेस दुई प्रदेश बनाउने योजना अस्वीकार्य छ, यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ मागपत्रमा भनिएको छ। चुरेभावरले अघि सारेका मागमध्ये महाभारतको श्रृंखलाको पानी ढलोदेखि राजमार्गका दक्षिणसम्मका १५ किमीसम्मका भागलाई चुरेभावर प्रदेश बनाउनु पर्नेछ ।
चुरे भावरमा प्राप्त प्राकृतिक स्रोत साधानको हकदार पनि सोही प्रदेश हुनुपर्नेमा जोड दिइएको छ।