सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशमा मधेशी र पहाडी समुदाय आपसमा मिलेर बसेपनि प्रमुख दलहरुले दुई समुदायबीचको सम्बन्ध विगार्न खोजेको आरोप लगाएका छन्।
सद्भावना पार्टीले आफ्नो २६ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष महतोले प्रमुख दलहरुले पहाडी र मधेशी समुदायबीचको सम्बन्ध विगार्नका लागि आफूहरुलाई पहाडी समुदायविरोधीको रुपमा प्रस्तुत गरेको बताए।
उनले पहाड र मधेशी समुदायबीचको सम्बन्ध विगार्नकै लागि प्रमुख दलहरुले मधेशका जिल्लामा पहाडका जिल्ला जोडेर प्रदेश बनाएको बताए। उनले पूर्वमा झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली र कञ्चनपुरका वासिन्दाले मधेशका जिल्ला रहने प्रदेशबाट अलग हुन नचाहेको दाबी गर्दै मधेशका जिल्लालाई पहाडका जिल्ला रहेको प्रदेशमा गाभिए पनि मधेशको जमिन कसैले पनि उठाएर लान नसक्ने बताए।
सद्भावनाका अध्यक्ष महतोले आफूहरुले मुलुक विखण्डन गर्नका लागि नभइ राष्ट्रिय एकता मजबुत तुल्याउनका लागि आन्दोलन गरेको भन्दै अबको आन्दोलनमा सरकारलाई झुकाउने दाबी गरे। कार्यक्रममा मानवअधिकारकर्मी दमननाथ ढुंगाना, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले मधेशी मोर्चाको मागलाई सरकारले बेवास्ता गर्न नहुने बताए।
उनीहरूले आफ्ना माग पूरा गर्नका लागि दवाब दिने नाममा जनताले कष्ट पाउने गरी बन्द र हड्तालका कार्यक्रम नगर्न मधेशी नेताहरुलाई आग्रह गरेका थिए।