नेकपा एमालेकी नेतृ शान्ता चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्तीर्ण भएकी छिन्।
दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिएकी पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण भएकी हुन्। सभासद् हुँदा निरक्षर भएका कारण धेरै दुःख झेल्नुपरेको महसुस भएपछि उनी विद्यालयमा भर्ना भएकी थिइन्।
सामाजिक सञ्जाल फेसबुकमा खुसी साट्दै उनले लेखेकी छिन्, 'धेरैलाई हाँसो लाग्दो हो तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ। घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ, फेल हुन्छु भन्ने लागेको थियो, तर पास भएँछु। पासमात्रै होइन फस्ट डिभिजन आएछ।' उनले आफूलाई पढाइमा उत्प्रेरणा जगाउने सबैमा आभार व्यक्तसमेत गरिन्।
मिडियाले लगातार पछ्याएकाले पनि आफू ध्यान दिएर पढ्न बाध्य भएको उनको भनाइ छ। रासस