सर्वाेच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा बिहीवारदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छन्।
सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसकेकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने महिला पहिलो भएको बताए।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत चैत ३० गतेबाट उमेर हदका कारण अवकाश लिएपछि वरिष्ठतम न्यायाधीशको हैसियतले कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी हुन्।
उनले बिहीवारदेखि मुद्दाको इजलास तोक्ने लगायत न्यायिक तथा प्रशासनिक कामको नेतृत्व सुरु गरेकी छिन्। संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत चैत २८ गते सिफारिस गरेकामा संसदीय सुुनुवाइ समिति नभएकाले कार्कीको संसदीय सुनुवाइ भएको छैन।
संवैधानिक व्यवस्थानुसार प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने हुन्छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ। संसदीय सुनुवाइ हुन नसकेको हुनाले कार्कीले हाल कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नेछिन्। रासस