डोटीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। अन्य ७ जना घाइते भएका छन्।
डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्फ जाँदै गरेको ना १ ज ३२९४ नम्बरको जिप गएराति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी डोटी जिजोडामान्डौँ–८ का ६२ वर्षीय प्रा डा जयराज पन्त, ५५ वर्षीया गुडी पन्त, ५२ वर्षीया सावित्रा पन्त, ६१ वर्षीय डा गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए।
दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुर्इजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका जिप चालक डोटी वनलेक–१ का ४५ वर्षीय चेतराज बलायर र ठेगान खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको विष्टले बताए।
दुर्घटनामा घाइते भएका ९ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीया कलावती टमटा, २२ वर्षीया अनिता टमटा, ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, ३८ वर्षीय धनबहादुर टमटा र धौली टमटा घाइते भएका छन्। उनीहरुमध्ये केहीकाे उपक्षेत्रीय अस्पताल डडेल्धुरा र केहीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट झन्डै ५०० मिटर तल खसेको थियो।