भूकम्प प्रभावित जिल्लाका १२५ गाविसमा रिक्त गाविस सचिव पूर्तिका लागि सामान्य प्रशासन मन्त्रालयले विशेष व्यवस्था गर्ने भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा तत्काल भूकम्प प्रभावित १२५ गाविसमा सचिवको पदपूर्ति गर्ने व्यवस्था मिलाउने निर्णय भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री एवम् प्राधिकरण निर्देशन समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता प्रधानमन्त्री कार्यालयमा चैत २१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भूकम्पपीडित परिवारलाई उपलब्ध गराइने रकम बैंकमार्फत उपलब्ध गराउन अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको समन्वयमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरी निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए।
स्थानीयस्तरमा खटिने इन्जिनियर एवम् अन्य प्राविधिकको पारिश्रमिक, सेवा र सुविधा फरक भएकाले सम्बन्धित निकायसँग समन्वय गरी सहरी विकास मन्त्रालयले समान सुविधा हुने गरी स्पष्ट मापदण्ड बनाई लागू गर्ने व्यवस्था मिलाउने गरी निर्णय गरिएको जानकारी उनले दिए। रासस