तनहुँको भिमाद गाविस वडा नं १ स्थित ग्रामिण तालिम केन्द्रको दक्षिण पश्चिमको भिरबाट लडेर मानिसको मृत्यु हुने क्रम बढेपछि काँडेतार लगाउने कार्य अघि बढाइएको छ ।
भिमाद गाविसका युवाले सामाजिक उत्तरदायित्वका लागि युवा समूह गठन गरेर काँडेतार लगाउने कार्य सुरु गरेको समूहका संयोजक सुदिपबन्धु भण्डारीले बताए।
करिब चार लाखको लागतमा ३५० मिटर भिरमा बार निर्माण सुरु गरिएको भण्डारीले बताए। उक्त काँडेतारको बार निर्माण गर्न भिमाद गाविसबाट रु ५० हजार र अन्य चन्दा सङ्कलन गरी कार्य थालिएको हो।
काँडेतारको बारका लागि मजबुत बनाउन फलामे एङ्ग्लको रड गाडिएको पनि अध्यक्ष भण्डारीले जानकारी दिए। रासस