एकीकृत माअोबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फ्रान्सका राजदूत एभेस कारमोनबीच भेटवार्ता भएको छ।
लाजिमपाटस्थित प्रचण्डको निवासमा बुधवार विहान भएको भेटमा प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणाबारे जानकारी लिएका थिए।
जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई सम्पूूर्ण रुपले समर्थन गरेको बताएका थिए। उनले भने,‘नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ।’
प्रचण्डले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताए। उनले शान्ति प्रक्रिया, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान जारी नेपाली जनता आफैंले गरेको बताए। उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताएका थिए।
भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताएइका थिए। प्रचण्डले नेपाल नवनिर्माणमा अघि बढेकाले लगानी गर्ने कम्पनीहरुको खाँचो रहेको बताएको उनको निजी सचिवालयले जनाएको छ।