प्राचीन नगर टोखामा मनाइने बिस्केट जात्राका लागि बुधवार लिङ्गो ठड्याइएको छ।
प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन स्थानीयवासीद्वारा थनेलाछी (माथिल्लो चोक)मा ५४ हात अग्लो लिङ्गो विधिविधानअनुसार ठड्याइएको हो ।
प्रत्येक वर्ष चैत मसान्तदेखि वैशाख ४ गतेसम्म बिस्केट जात्रा मनाइन्छ। यस अवधिमा स्थानीय गणेश र कुमारीको जात्रा गरिन्छ । प्रत्येक वर्ष वैशाख ५ गते विधिअनुसार पूजा गरी लिङ्गो ढलाइने बिस्केट जात्राका संयोजक देवराज डङ्गोलले बताए।
स्थानीय गणेश मन्दिरका मूलपुजारी हेमराज श्रेष्ठले दैवी प्रकोपबाट त्यहाँका मानिसलाई जोगाउन, विषरुपी सर्पबाट हुने अनिष्टबाट स्थानीयवासीलाई संरक्षण गर्न बिस्केट जात्रा निकाल्ने प्रचलन सुरु भएको जानकारी दिए।
बूढानीलकण्ठ आसपास क्षेत्रको जङ्गलबाट रूख कटान गरी लिङ्गो निर्माण गरिएको हो । पहिले वन विभागमा निवेदन दिएपछि निःशुल्क लिङ्गोका लागि रूख कटान गर्ने व्यवस्था भएपनि अहिले स्थानीयवासीले पैसा उठाएर लिङ्गोको व्यवस्था गर्न परेकामा स्थानीय समाजसेवी मणिलाल डङ्गोलले गुनासो गरे। रासस